काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले फ्लाई दुबईका भारतीय पाइलट क्याप्टेन स्मित मच्छरसँग करिब ७ मिनेट टेलिफोन कुराकानी गर्दै विमानभित्र भएको घटनाबारे जानकारी लिएका छन् ।
नेतन्याहुले स्मितको साहसको प्रशंसा गर्दै उनी इजरायल, भारत र विश्वकै हिरो भएको बताए ।
इजरायली प्रधानमन्त्री कार्यालयले उनीहरुबीचको कुराकानी फेसबुक पेजमा राखेको छ ।
कुराकानीका क्रममा नेतन्याहुले स्मितलाई इजरायल भ्रमणको निम्तो समेत दिए ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै आगामी इजरायली स्वतन्त्रता दिवसको कार्यक्रममा सहभागी हुन र उत्सवको मशाल बाल्न निम्तो दिने बताए ।

कुराकानीका क्रममा नेतन्याहूले सोधे– यो सबै कसरी भयो ?
स्मितका अनुसार उडान सामान्य रूपमा चलिरहेको थियो । ओमानी सह–पाइलटले नमाज पढ्ने बताएपछि उनी ककपिटको पछाडितर्फ गए । त्यसको चारपाँच मिनेटपछि सह–पाइलटले अचानक पछाडिबाट स्मितको टाउकोमा धारिलो हतियारले प्रहार गर्न थाले ।
स्मितका अनुसार सुरुमा उनलाई विमानमै कुनै ठूलो समस्या आएको जस्तो लागेको थियो । लगातार प्रहार भएपछि मात्रै आफूलाई सह–पाइलटले नै आक्रमण गरेको थाहा भयो । टाउकोमा चोट लागेका कारण दृष्टि धमिलो भए पनि उनले विमानलाई नियन्त्रणमा राख्ने प्रयास जारी राखेका थिए ।
आक्रमणपछि विमान तीव्र गतिमा तल झर्न थालेको थियो । स्मित ककपिटको भुइँमा लडेका थिए । कठिन अवस्थामा समेत उनले ककपिटको ढोका खोल्न सफल भए । त्यसपछि चालक दल र यात्रुहरूले ककपिटमा पुगेर आक्रमणकारी सह–पाइलटलाई नियन्त्रणमा लिएका थिए ।
घटना सेप्टेम्बर ३० मा दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको थियो । विमान करिब १७ हजार फिट तल झरेपछि साउदी अरबको तबुकमा आपत्कालीन अवतरण गराइएको थियो ।











प्रतिक्रिया