काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाका लगातार २४ वटा बैठकमा अनुपस्थित भएको बिदा स्वीकृत गराएका छन्। स्वास्थ्य उपचारका लागि केही दिन अस्पताल बसेका प्रचण्डले डेढ महिनाभन्दा बढी अवधिको बैठकमा उपस्थित हुन नसकेको जानकारी संसद्लाई गराएका हुन्।
प्रतिनिधिसभाको जारी अधिवेशनको अन्तिम बैठकमा सभामुख डोलप्रसाद अर्यालले लामो समयसम्म बैठकमा अनुपस्थित रहेका सांसदहरूको बिदासम्बन्धी निवेदन सदनसमक्ष पेश गरेका थिए। बैठकले त्यस्ता सबै सांसदको बिदा स्वीकृत गरेको छ।
संसदीय नियमअनुसार लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुनुपर्ने अवस्थामा सांसदले सभामुखसमक्ष बिदाको सूचना दिनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार प्रचण्डले आफू २४ बैठकमा अनुपस्थित रहेको कारणसहित बिदाको निवेदन दिएका थिए।
संसद् सचिवालयका अनुसार प्रचण्ड गत वैशाख ३० देखि असार १३ गतेसम्म चलेका प्रतिनिधिसभाका २४ बैठकमा सहभागी भएनन्। उनको निवेदनमा स्वास्थ्य उपचारका कारण बैठकमा उपस्थित हुन नसकेको उल्लेख गरिएको थियो।
प्रचण्ड जेठमा स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी अस्पतालमा भर्ना भएका थिए। उनलाई सामान्य निमोनिया तथा रगतमा संक्रमण देखिएको बताइएको थियो। अस्पतालमा करिब तीन–चार दिन उपचारपछि उनी डिस्चार्ज भएका थिए। तर अस्पतालबाट डिस्चार्ज भएको अवधि र संसद्का सबै २४ बैठकमा अनुपस्थित भएको अवधि एउटै भएको भने देखिँदैन।
प्रचण्डपछि योगेश थकालीको बढी अनुपस्थिति
लामो समय संसद् बैठकमा अनुपस्थित भएर बिदा स्वीकृत गराउने सांसदको सूचीमा प्रचण्डपछि कांग्रेसका सांसद योगेश गौचन थकाली छन्। उनले २० वटा बैठकमा अनुपस्थित भएको बिदा स्वीकृत गराएका छन्।
प्रतिनिधिसभा नियमावलीले लामो समय बैठकमा अनुपस्थित हुने सांसदलाई त्यसको कारण खुलाएर बिदा स्वीकृत गराउने व्यवस्था गरेको छ। यस्तो व्यवस्थाले सांसदको अनुपस्थितिलाई औपचारिक रूपमा अभिलेखमा राख्ने काम गर्छ।
कसले कतिवटा बैठक छले ?
एलिजा गुरुङः ११ बैठकमा अनुपस्थित, कारण- स्वास्थोपचार
योगेश गौचन थपालीः २० बैठकमा अनुपस्थित, कारण-अन्तर्राष्ट्रिय यात्रा
भूमिका लिम्बुः १२ बैठकमा अनुपस्थित, कारण- छोरीको उपचार
इन्दिरा रानाः १० बैठकमा अनुपस्थित, कारण- अन्तर्राष्ट्रिय कार्यक्रम
हरिनादवी कानूः १३ बैठकमा अनुपस्थित, कारण- ससुराको काजक्रिया
जनकराज गिरीः १२ बैठकमा अनुपस्थित, कारण- घरायशी काम
भरतबहादुर खड्काः १४ बैठकमा अनुपस्थित, कारण- जिल्ला भ्रमण
सृष्टी भट्टराईः ११ बैठकमा अनुपस्थित, कारण- परीक्षा
मोहम्मद इस्तियाक राईः १४ बैठकमा अनुपस्थित, कारण- व्यक्तिगत
विदुषी राणाः १५ बैठकमा अनुपस्थित, कारण- विदेश यात्रा
खडक शाहीः ११ बैठकमा अनुपस्थित, कारण- जिल्ला भ्रमण
प्रकाशसिंह कार्कीः १० बैठकमा अनुपस्थित, कारण- जिल्लामा कार्यक्रम











प्रतिक्रिया