–सञ्जय मिश्रा
रौतहट । टिकटकमा फर्निचर बिक्रीको आकर्षक विज्ञापन देखाएर मोबाइल बैंकिङको विवरण हात पार्ने र खाताबाट रकम निकाल्ने गरेको आरोपमा रौतहट प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
थप दुई जना पक्राउ परेसँगै घटनामा पक्राउ पर्नेको संख्या चार पुगेको छ । थप पक्राउ पर्नेमा कटहरिया नगरपालिका–३ बिर्ती प्रस्टोकाका रामप्रवेश साह बनिया र सुबोध माली भगत रहेका छन् । यसअघि प्रहरीले सोही ठाउँका २० वर्षीय सुरजप्रसाद यादव र २२ वर्षीय भोलिन्द्रकुमार यादवलाई पक्राउ गरेको थियो । उनीहरूलाई गत भदौ १६ गते बिर्ती प्रस्टोकाबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडा पठाइएको थियो । उनीहरूविरुद्ध भदौ १७ गते अनलाइन ठगीसम्बन्धी मुद्दा दायर गरिएको थियो ।
पक्राउ परेकाहरूको बयान र अनुसन्धानबाट खुलेका तथ्यका आधारमा थप दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यले जानकारी दिएका छन् ।
स्क्रिन सेयर गराएर बैंकिङ पासवर्डसम्म पहुँच
प्रहरीका अनुसार गत भदौको दोस्रो साता सिरहाको नवराजपुर गाउँपालिका–३ का ४५ वर्षीय वैद्यनाथकुमार यादवलाई टिकटकमार्फत फर्निचर बिक्री गर्ने भन्दै सम्पर्क गरिएको थियो । फर्निचर खरिदका विषयमा कुराकानी गर्ने क्रममा पीडितलाई मोबाइलको स्क्रिन सेयर गर्न लगाइएको र त्यस क्रममा मोबाइल बैंकिङको पासवर्ड प्राप्त गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । त्यसपछि पीडितको बैंक खाताबाट ४७ हजार १९८ रुपैयाँ निकालिएको आरोप छ ।
खाताबाट रकम निकालिएपछि पीडितले बैंक खातासम्बन्धी विवरणका आधारमा आरोपीको पहिचान गरी भदौ १६ गते इलाका प्रहरी कार्यालय कटहरियामा उजुरी दिएका थिए । उजुरीपछि अनुसन्धान अघि बढाएको प्रहरीले सुरजप्रसाद यादव र भोलिन्द्रकुमार यादवलाई पक्राउ गरेको थियो । उनीहरूको बयान तथा अनुसन्धानबाट प्राप्त सूचनाका आधारमा रामप्रवेश साह बनिया र सुबोध माली भगतसमेत पक्राउ परेका हुन् ।
नक्कली नागरिकता र राहदानीबाट बैंक खाता
डीएसपी आचार्यका अनुसार पक्राउ परेकाहरूले फर्निचर बिक्रीको बहानामा मात्र नभई अनलाइनमार्फत विभिन्न किसिमका ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूले नक्कली नागरिकता र राहदानी बनाएर त्यसैका आधारमा बैंक खाता खोल्ने र ठगीमा प्रयोग गर्ने गरेको समेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घटनाको प्रकृति हेर्दा यो एउटा व्यक्तिसँग भएको ठगीमा मात्र सीमित नभई थप व्यक्तिहरूको संलग्नता हुनसक्ने प्रहरीको आशंका छ । प्रहरीले पक्राउ परेकाहरूविरुद्ध संगठित अपराधसम्बन्धी कसुरमा समेत थप अनुसन्धान गरिरहेको जनाएको छ ।
हाल चारै जना इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा छन् । प्रहरीले उनीहरूसँग जोडिएका अन्य व्यक्ति, बैंक खाता, डिजिटल कारोबार तथा ठगीका सम्भावित घटनाबारे अनुसन्धान अघि बढाएको छ । अनुसन्धान पूरा भएपछि टिकटकमा फर्निचर बिक्रीको बहानामा भएको ४७ हजार १९८ रुपैयाँको ठगी पछाडि कति व्यक्ति र कस्तो डिजिटल सञ्जाल सक्रिय थियो भन्ने विषय थप स्पष्ट हुने प्रहरीको भनाइ छ ।











प्रतिक्रिया