काठमाडौं । नेपाली कांग्रेसको आगामी १५ औं महाधिवेशनमा करिब ७ हजार महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् । १४ औं महाधिवेशनको तुलनामा प्रतिनिधिको संख्या उल्लेख्य रूपमा बढ्ने भएपछि यस पटक उद्घाटन कार्यक्रमका साथै बन्दसत्र समेत काठमाडौंको खुलामञ्चमै टेन्ट टाँगेर गर्ने तयारी भइरहेको छ ।
अविरल वर्षाका कारण देशभरका क्षेत्रीय अधिवेशनहरू प्रभावित बनेपछि कांग्रेस निर्वाचन समितिले महाधिवेशनको तालिका दुई दिन पछाडि सारेर असोज १८ देखि २२ गतेसम्म पुर्याएको छ । यसअघि असोज १६ देखि १९ गतेसम्मका लागि तय गरिएको कार्यक्रम परिमार्जन गरिए पनि महाधिवेशन प्रतिनिधिहरूको दर्ता भने पूर्वनिर्धारित समय असोज १६ गते शुक्रबारदेखि नै सुरु हुनेछ ।
नयाँ कार्यतालिका अनुसार शुक्रबार र शनिबार प्रतिनिधि दर्ता सम्पन्न गरी असोज १८ गते आइतबार अपराह्न २ बजे खुलामञ्चमा महाधिवेशनको औपचारिक उद्घाटन गरिनेछ । त्यसपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ भने नयाँ नेतृत्व चयनका लागि असोज २१ र २२ गते निर्वाचन कार्यक्रम तय गरिएको छ ।
हाल देशभर प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमार्फत महाधिवेशन प्रतिनिधि छनोटको काम जारी रहेको र बिहीबारसम्म सबै क्षेत्रको नतिजा आइसक्ने निर्वाचन समितिले जनाएको छ ।
१४ औं महाधिवेशनमा ४ हजार ७ सय ४३ प्रतिनिधि सहभागी रहेकामा यसपटक विधान संशोधन गरी प्रतिनिधित्वको दायरा फराकिलो बनाइएकाले प्रतिनिधिको संख्या बढेको हो । यसअघि एक निर्वाचन क्षेत्रबाट २४ जना निर्वाचित हुने गरेकामा यसपटक ३३ जनाका दरले १६५ क्षेत्रबाट ५ हजार ४ सय ४५ जना प्रतिनिधि प्रत्यक्ष निर्वाचित भएर आउनेछन् । गाउँ-नगरपालिका र प्रदेशसभा क्षेत्रीय सभापति पदेन प्रतिनिधि हुने व्यवस्थाले यो संख्या ६ हजार ५ सय २८ पुग्नेछ ।
यसका साथै महाधिवेशनमा समावेशी र युवा सहभागिता बढाउन प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तिमा तीन जना ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व विधानमार्फत नै सुनिश्चित गरिएको छ । प्रजातन्त्रका सेनानी, सहिद परिवार, द्वन्द्वपीडित, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र पेसागत विषयविज्ञबाट पनि १/१ जना प्रतिनिधि थपिने व्यवस्था गरिएको छ । विदेशस्थित ३७ मध्ये महाधिवेशनमा सहभागी हुने २८ वटा जनसम्पर्क समितिबाट थप करिब दुई सय प्रतिनिधि सहभागी हुने प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।











प्रतिक्रिया