२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्री बालेनले संयुक्त राष्ट्रसंघमा गरेको सम्बोधन एक नम्बरमा, तेस्रोमा ट्रम्प

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा गरेको सम्बोधन विश्वभरका नेताहरूका भाषणमध्ये सर्वाधिक हेरिएको भिडियो बनेको छ।

संयुक्त राष्ट्रसंघको आधिकारिक युट्युव च्यानलमा राखिएको बालेनको सम्बोधन ट्रेन्डिङमा पहिलो स्थानमा रहेको छ। पछिल्लो विवरणअनुसार उक्त भिडियो ७ लाखभन्दा बढी पटक हेरिएको हो। यसअघि सार्वजनिक विवरणमा पनि उनको सम्बोधन अन्य विश्व नेताका भाषणभन्दा अगाडि रहेको देखिएको थियो।

बालेनपछि इरानका राष्ट्रपति मसुद पेजेस्कियान, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायतका नेताका सम्बोधन बढी हेरिएका छन्। ट्रम्पको सम्बोधन करिब ३ लाख ८० हजारभन्दा बढी पटक हेरिएको विवरण सार्वजनिक भएको थियो।

बालेनले सेप्टेम्बर २४ मा महासभालाई सम्बोधन गर्दै नेपालले भोगिरहेको जलवायु संकट र हालैको विनाशकारी बाढीपहिरोको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रमुखताका साथ उठाएका थिए। उनले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असर विश्वव्यापी समस्या भएको भन्दै नेपालजस्ता मुलुकले भोगिरहेको क्षतिको अन्तर्राष्ट्रिय जिम्मेवारीबारे प्रश्न उठाएका थिए।

उनले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रस्तावसमेत गरेका थिए। यस्तो संयन्त्रमार्फत भू–उपग्रहबाट प्राप्त तथ्यांक आदानप्रदान, हिमतालको निगरानी, पूर्वसूचना प्रणाली सुदृढीकरण तथा विपद्का बेला सीमापार सहकार्य गर्नुपर्ने उनको प्रस्ताव थियो।

सम्बोधनका क्रममा बालेनले हिमालय क्षेत्र करिब दुई अर्ब मानिसको पानी, कृषि, जीविकोपार्जन र पारिस्थितिक प्रणालीसँग जोडिएको उल्लेख गर्दै हिमालयलाई विश्वको जीवन प्रणालीकै महत्वपूर्ण हिस्सा भएको बताएका थिए। उनले जलवायु परिवर्तनले सीमा नचिन्ने भएकाले विपद् व्यवस्थापनमा क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

बालेनको सम्बोधनमा पछिल्लो बाढीबाट भएको मानवीय क्षति, जलवायु न्याय, पुनर्निर्माणका लागि आवश्यक स्रोत तथा विद्यमान विश्वव्यवस्थामाथिका प्रश्नसमेत समेटिएका थिए। उनको भाषणलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि जलवायु संकट र हिमालय क्षेत्रसँग जोडिएको नेपालको दृष्टिकोणका रूपमा कभरेज गरेका छन्।