काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले १५ औं महाधिवेशनको तयारी तीव्र पारिएको जानकारी दिँदै क्रियाशील सदस्यताको जानकारी दिनेगरी शनिबार अनलाइन पोर्टल सार्वजनिक गरेको छ ।
शनिबार सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलनको आयोजना गर्दै क्रियाशील सदस्यताका लागि अनलाइन पोर्टलको शुभारम्भ गरिएको पार्टीले जानकारी दिएको हो ।

इतर समूहका संयोजक डा. शशांक कोइरालाले अनलाइन पोर्टलको शुभारम्भ गरेका हुन् ।
डा. कोइरालाले अहिलेको समय आफूहरूको परीक्षाको घडी भएको बताउँदै जोशका साथ १५ औं महाधिवेशनमा होमिएको जानकारी दिए ।
‘नेपाली कांग्रेस भनेको बलियो विचार भएको पुरानो पार्टी हो तर पुरानो भनेको फाटेको होइन, पुरानो तर त्यसमा नयाँ जोश भरिएको छ । हामी जोशका महाधिवेशनमा जाँदैछौँ,’ उनले प्रष्ट पारे ।
महाधिवेशनलाई सफल बनाउन उनले सबैको साथको अपेक्षा पनि गरे ।
अर्का नेता डा. प्रकाश शरण महतले यही असोज १५ गतेबाट वडा अधिवेशन सुरु गरेर मंसिर २१, २२, २३ गते केन्द्रीय महाधिवेशन गर्न लागिएको जानकारी दिए । महाधिवेशन छोटो समयमा सम्पन्न गर्नुपर्ने भएकाले आपतकालीन मोडमा तयारी तीव्र पारिएको उनले जानकारी दिए ।












प्रतिक्रिया