काठमाडौं । एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले आफ्नो पहिलो खेलमै प्रभावशाली जित दर्ता गरेको छ। शुक्रबार भएको समूह चरणको खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।
अफगानिस्तानले दिएको १ सय ३ रनको लक्ष्य नेपालले १७.४ ओभरमै ५ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा रोहित पौडेलले अविजित ३३ रन बनाए। कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रनको योगदान दिए भने सन्दीप जोराले ३ रन बनाए।
यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तान २० ओभरमा १ सय २ रनमै अलआउट भएको थियो। उसका लागि फिसल खान अहमदजाइ र नजिबुल्लाह जाद्रानले समान ३० रन बनाए। नन्ग्यालिया खानले अविजित १७ रन जोडे पनि अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।
अफगानिस्तानको इनिङ ध्वस्त पार्ने क्रममा नेपालका कुशल भुर्तेलले ४ तथा ललितनारायण राजवंशीले ३ विकेट लिए।
अफगानिस्तानले यसअघि जापानलाई पराजित गर्दै २ अंक जोडिसकेको थियो। नेपालले पनि जितसँगै समूह ‘ए’ मा २ अंक प्राप्त गरेको छ। समूहमा नेपाल, अफगानिस्तान र जापान रहेका छन्।











प्रतिक्रिया