२८ आश्विन २०८३, बुधबार

राइडरहरुलाई पठाओको ‘सब्स्क्रिब्सन मोडल’को अफर, अब तिर्नुपर्दैन कमिसन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राइड सेयरिङ एप पठाओले राइडर तथा क्याप्टेनहरुका लागि सब्स्क्रिब्सन मोडल लागू गर्ने घोषणा गरेको छ । पठाओले कमिसनमा आधारित आम्दानी प्रणालीलाई परिवर्तन गर्दै सब्स्क्रिप्सनमा आधारित प्रणाली लागू गर्ने घोषणा गरेको हो ।

नयाँ व्यवस्थाअनुसार पठाओ क्याप्टेनले प्रत्येक राइडको आम्दानीबाट प्रतिशतका आधारमा कमिसन बुझाउनुपर्ने छैन । पठाओका अनुसार कमिसनको सट्टा अब राइडर तथा पठाओ क्याप्टेनहरुले दैनिक, साप्ताहिक वा मासिक निश्चित सब्स्क्रिप्सन शुल्क तिरेर राइड गर्न सक्नेछन् ।

पठाओका अनुसार कारका लागि सब्स्क्रिप्सन शुल्क २४ घण्टाका लागि १४९ रुपैयाँ, ७ दिनका लागि ६९९ रुपैयाँ र ३० दिनका लागि २,२९९ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, बाइकका लागि २४ घण्टाको ४९ रुपैयाँ, ७ दिनको २९९ रुपैयाँ र ३० दिनको ९९९८ रुपैयाँ शुल्क तोकिएको छ ।

‘उचित दर, मेहेनतको कदर’ भन्ने नारासहित आफ्नो ८ औं वार्षिकोत्सवका अवसरमा सार्वजनिक भएको यो अफरको सब्स्क्रिब्सन प्याकेज राइडर तथा पठाओ क्याप्टेनले पठाओ ड्राइभ एपबाट खरिद गर्न सक्नेछन् ।

पठाओका अनुसार ग्राहकले तिर्ने राइड भाडामा लाग्ने ५ प्रतिशत भ्याट र १ प्रतिशत टीडीएस भने यथावत् रहनेछ । यी करसम्बन्धी रकम सब्स्क्रिप्सन शुल्कभन्दा छुट्टै रूपमा ड्राइभरको दायित्वमा रहने पठाओले जनाएको छ ।

पठाओले ल्याएको यस्तो सुविधाले राइडरहरु लाभान्वित हुने विश्वास पठाओले लिएको छ । विभिन्न राइड सेयरिङ प्लेटफर्मका राइडर तथा क्याप्टेनहरुले न्यून भाडादरको विषयमा आवाज उठाइरहेका बेला पठाओले ल्याएको यस्तो सुविधालाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि राइडरहरूले उठाउँदै आएको २५ रुपैयाँ प्रतिकिलोमिटरको मागप्रति पनि पठाओले सकारात्मक धारणा सार्वजनिक गरिसकेको छ । पठाओले स्वच्छ प्रतिस्पर्धाका लागि सबै राइड सेयरिङ प्लेटफर्ममा समान भाडादर लागू हुनेगरी सरकारले स्पष्ट व्यवस्था गर्नुपर्ने माग गरेको छ ।