२८ आश्विन २०८३, बुधबार

रमणी ढल्दैन, फेरि उठ्नेछ : एलिना चौहान

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चर्चित गायिका एलिना चौहानले आफ्नो महिला पहिरन तथा श्रृंगार स्टोर ‘रमणी बाई एलिना’ नयाँ स्थानबाट पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएकी छन् । छोटो समयमै पुरानो स्थान छाड्नु परे पनि व्यवसायलाई निरन्तरता दिन तयारीस्वरुप काम भइरहेको उनले बताइन् ।

बुधबार सामाजिक सञ्जालमा भिडियो सन्दैश जारी गर्दै एलिनाले पुरानो स्थानबाट रमणी सार्नुपरेको कारणबारे जानकारी दिइन् ।

उनका अनुसार रमणी सञ्चालनमा आएको केही दिनमै आफूले प्रयोग गरिरहेको भवनको स्वामित्व अर्कै व्यक्तिको हातमा पुगेको थियो । त्यसपछि उक्त भवन भत्काउने निर्णय भएपछि त्यहाँबाट व्यवसाय स्थानान्तरण गर्नुपर्ने अवस्था आएको उनले बताइन् ।

अचानक आएको परिस्थितिका कारण आफू निकै निराश भएको उल्लेख गर्दै उनले रमणी नढल्ने र थप आकर्षक व्यवस्थित रूपमा अघि बढाउने बताइन् ।

नयाँ व्यवसाय सुरु गरेको छोटो समयमै स्थान परिवर्तन गर्नुपर्दा कठिनाइ भए पनि ग्राहक, दर्शक तथा शुभचिन्तकबाट प्राप्त माया, साथ र हौसलाले आफूलाई पुनः अघि बढ्ने ऊर्जा दिएको उनको भनाइ छ ।

अब रमणी काठमाडौंको मध्यबानेश्वरस्थित रत्नराज्य स्कुल अगाडि नयाँ स्थानबाट सञ्चालनमा आउने उनले बताइन् । उनका अनुसार नयाँ भवनमा आवश्यक तयारी भइरहेको छ र करिब ९ देखि १० दिनभित्र रमणी पुनः सञ्चालनमा ल्याउने तयारी छ ।

एलिनाले ग्राहक तथा शुभचिन्तकहरुलाई साथ र सहयोग निरन्तर गरिदिन आग्रह गरेकी छन् ।