२८ आश्विन २०८३, बुधबार

‘टनेल २६’को प्रचारप्रसारका लागि नेपाल आइपुग्यो भुटानी टोली

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । असोज २३ गतेको नेपाल रिलिजलाई लक्षित गर्दै फिल्मको प्रचारप्रसारका लागि ‘टनेल-२६’को भुटानी टोली नेपाल आइपुगेको छ । १६ जनाको टोली सोमबार बिहान नेपाल आइपुगेको हो। उनीहरुका अलावा थप ५ जना पनि नेपाल आउने बताइएको छ ।

‘टनेल-२६ : द कर्स बिनिथ द माउन्टेन’ नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको जम्बी हरर फिल्म हो । यसअघि टिजर सार्वजनिक भइसकेको यस फिल्मको मंगलबार एक कार्यक्रमबीच ट्रेलर रिलिज हुँदैछ । सोही कार्यक्रममा सहभागी हुन भुटानी निर्माण पक्ष, प्राविधिक र कलाकारको टोली नेपाल आइपुगेको हो ।

टोलीको नेतृत्व यस फिल्मका निर्मातामध्येका एक संगय छेल्ट्रिमले गरेका हुन् । उनको स्वामित्वमा रहेको संगय छेल्ट्रिम फिल्म्स यो फिल्मको निर्मातामध्येको एक कम्पनी हो ।

विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै संगयले ‘टनेल-२६’ फिल्म हलिउड र बलिउडको स्तरमा रहेर काम गरिएको बताए ।

फिल्मको नेपाली रिलिजलाई लिएर उत्साहित सुनिएका संगयले भने, ‘धेरै उत्साहित छु । टनेल-२६ हामीले एक वर्षभन्दा बढी मेहनत गरेर बनाएका हौं । ट्रेलर धेरै राम्रो आएको छ । नेपाल र भुटानको सहकार्य अन्तर्राष्ट्रिय स्तरमा जाने निश्चित भएको छ । नेपाल र भुटानले सहकार्य गरेर बनाएको यो फिल्म हलिउड र बलिउडका फिल्मलाई टक्कर दिने गरी बनाएका छौं ।’

फिल्ममा उनका अलावा नेपाली व्यापारिक घराना चौधरी ग्रुपका निर्माण चौधरीले नेपाली अभिनेता प्रदीप खड्कासँगको सहस्वामित्व रहेको पिक एक्सभी स्टुडियोजको ब्यानरमा पनि यो फिल्म निर्माण भएको हो ।

डीडी किन्ले फिल्मका लेखक, निर्देशक तथा सम्पादक हुन् । उनले पनि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै फिल्म रिलिजलाई लिएर निकै आशावादी रहेको बताए ।

‘फिल्म अहिले आफ्नो अन्तिम चरणमा छ । कस्तो आउँछ भनेर हामी पनि रोमाञ्चित भइरहेका छौं । सबैको साथ पाइयो भने यस्ता सहकार्यले फाइदा हुनेछ,’ उनले भने ।

यसैगरी, फिल्ममा भारतीय फिल्ममेकर प्रशान्त कुमार गुप्ता, भुटानी अभिनेता तथा निर्माता संगय छेल्ट्रिम र दोर्जी वाङ्चुकसहित विभिन्न निर्माताको पनि निर्माण सहकार्य रहेको छ ।

फिल्मलाई भुटानको शाही सरकारअन्तर्गतको मिडिया, क्रिएटिभ इन्डस्ट्री तथा इन्टेलेक्चुअल प्रोपर्टी विभागले समेत सहयोग गरेको निर्माण टिमले जनाएको छ । चलचित्रको नेपाल व्यवस्थापन लिभेन्टस् स्टुडियो प्रालिले गरेको हो भने, सन्तोषकुमार कार्कीले चलचित्रको व्यवस्थापन सम्हालेका छन् ।

फिल्ममा संगय छेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादा मुख्य भूमिकामा छन् ।

फिल्ममा दोर्जी वाङ्चुक कार्यकारी निर्माता तथा प्रदीप खड्का क्रिएटिभ प्रोड्युसरका रूपमा छन् ।