काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीन वटा विषयगत समितिको बैठक आज बस्दैछ ।
सिंहदरबारमा आज कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो ।
बिहान ९ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)अन्तर्गतका क्षेत्रीय कार्यालय तथा अनुसन्धान केन्द्रहरूको स्थलगत अनुगमनबाट देखिएका समस्या, चुनौती र कृषि अनुसन्धान प्रणाली सुदृढीकरणका उपायबारे छलफल हुनेछ । बैठकमा कृषि, वन तथा वातावरणमन्त्री, नार्कका कार्यकारी निर्देशक र मातहतका विभिन्न निर्देशनालय, कार्यक्रम तथा केन्द्रका प्रमुख एवं प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको छ ।
यस्तै, बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा रसुवास्थित भोटेकोशी बाढीप्रभावित क्षेत्रको विपद् व्यवस्थापन, प्रभावित नागरिकको मानवअधिकार संरक्षण तथा जलवायु न्यायका विषयमा छलफल हुने कार्यसूची छ ।
यसैगरी, बिहान १० बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा बाढी र पहिरोबाट बढी प्रभावित जिल्लाहरू (रसुवा, नुवाकोट र धादिङ)मा जनजीवन तथा पूर्वाधारमा पुगेको क्षति, पुनःस्थापना, पुनर्निर्माण र त्यसका लागि आवश्यक लगानी व्यवस्थापनका सम्बन्धमा गहन छलफल हुनेछ ।











प्रतिक्रिया