काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभर जारी वडा अधिवेशनको दोस्रो दिनसम्म ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन प्रक्रिया सम्पन्न भएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ३ गतेदेखि सुरु भएको वडा अधिवेशनअन्तर्गत अधिकांश जिल्लामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गरिएको हो ।
समितिका अनुसार रसुवा, नुवाकोट र धादिङका साथै सप्तरीका निर्वाचन क्षेत्र नं. २ र ४, सिरहा, मोरङ क्षेत्र नं. ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं. २ र नवलपरासी पश्चिमको क्षेत्र नं. २ मा भने वडा अधिवेशन सम्पन्न हुन बाँकी छ ।
बाँकी रहेका स्थानमा असोज ५ गते पनि अधिवेशन प्रक्रिया जारी रहने निर्वाचन समितिले जनाएको छ । समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिमा बाँकी वडामा निर्धारित कार्यतालिकाअनुसार अधिवेशन सम्पन्न गर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ ।
कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका रहेको छ।











प्रतिक्रिया