२८ आश्विन २०८३, बुधबार

संविधान कपडा होइन !

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–सञ्जय खड्का

भारतको सय वर्षे संविधान,
अमेरिकाको दुई सय वर्षे संविधान,
बेलायतको अलिखित संविधान,
युरोपको झनै पुरानो एतिहासको संविधान ।

हाम्रो संविधानको इतिहासले भने
अनोठै विश्व कीर्तिमान रच्यो–
२००४, २००७, २०१५, २०१९,
२०४७, २०६३, अनि २०७२…
अनि, अब फेरि अर्को ?

सहिष्णुताको पर्याय थियो हाम्रो नेपाल,
आज आफ्नै भाइभाइसँग जुधाइँदैछ,
जात र धर्मको नाममा आगो सल्काएर
अविश्वासको वितण्डा मच्चाइँदै छ ।

खै ! कस्को प्रभावको दबाबमा–
राष्ट्रिय स्वाभिमान पनि डगमगाउँछ !
कहिले आफ्नै भाषा–लिपि मासिन्छ,
हिज्जे र व्याकरणको सातो लिइन्छ,
शब्दकोशमै तोडमोडको खेल चलाइन्छ !

संविधानको सर्वोच्च व्याख्याता सर्वोच्च नै
एकै वर्षमा तीन–तीन पटक जल्छ,
त्यो पनि छानीछानी–जानीजानी,
र पनि हामीभित्र प्रश्न गर्ने आत्म नै मर्छ !

इतिहास र पहिचान मेट्ने प्रपञ्च भइरहँदा,
विडम्बना ! हाम्रा जेन्जी भने बेखबर छन्,
‘अल्गोरिदम’को जालो र ‘डिजिटल कोर्ट’
मै मस्त, व्यस्त र भ्रमित छन् ।

कुर्सी पुगेपछि विवेक ढाक्ने मैमत्ता,
भ्रष्टाचारी नियन्त्रणमा फितलो व्यवस्था,
नौ वर्षमा यहाँ दसवटा सरकार ढल्छन्,
स्वार्थको दाउपेचमा मूल कानुन नै जल्छन् ।

मूल दस्तावेज हुनुपर्ने संविधान,
सौदाबाजी र सम्झौताको कागजी खोस्टा बन्छ !
स्वार्थ मिलेसम्म सहकार्य, नमिले फेरौं भन्छ,
नियत नै खराब भए पछि के चाहिँ टिक्छ ?

भूराजनीतिको चेपुवा, स्वाभिमानको विवशता,
जनअपेक्षाको उपेक्षा, कार्यान्वयनमा मौनता,
शासकको स्वेच्छाचारिता, सरकारी संयन्त्रको शिथिलता,
संस्था र संस्थान सबैमा नियतबस् बढ्दो अपाङ्गता !

संवैधानिक संस्थाको अपरिपक्वता र निष्क्रियता
वैदेशिक नीति र दीर्घ राष्ट्रिय योजनाको अभाव
दिशाहीन निर्णय– यस्तै प्रवृत्तिले बनाउँछ
संविधानलाई अस्थिरताको हतियार ।

संविधान कपडा होइन, मन लागे फेरिरहने !
गलत भाष्य नसुधारी,
आफ्नो नियत र प्रवृत्ति नसुधारी,
केवल किताब फेरेर देशको मुहार कसरी फेर्ने ?

त्यस्तो संविधान बनाऔँ– जसले राजदरबार
हत्याकाण्डा र भदौ २४ नदोहोरिन देओस्,
जहाँ– नेपाली सेना नेपालकै होस्,
संविधान राष्ट्र जोगाउने जीवन्त संकल्प बनोस् !

सातौँको शोक मनाऊँ कि आठौंको बधाई दिऊँ ?
कागजमा होइन, जनजीवनको दपर्णमा देखियोस्,
संविधान दिवसको सबैलाई धेरै सधैं शुभकामना ।
जय संविधान, नेपालको सधैं जय होस् ।