काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष शेष घले र उनकी पत्नी जमुना घलेले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि ५७ करोड ८५ लाख रुपैयाँसम्मको दीर्घकालीन सहयोग गर्ने भएका छन् ।
यससम्बन्धी एक सम्झौतामा घले दम्पतीले नेतृत्व गरेको एमआईटी ग्रुप फाउन्डेसन र राष्ट्रिय बाल अधिकार परिषद्सँग समझदारी (एमओयू)मा शुक्रबार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर भएको थियो । समारोहमा राष्ट्रिय बाल अधिकार परिषद्की अध्यक्ष पनि रहेकी मन्त्री सीता वादी पनि उपस्थित थिइन् ।

राष्ट्रिय बाल अधिकार परिषद् बालबालिकासम्बन्धी ऐन, २०७५ बमोजिम बालबालिकाको अधिकार तथा हक हितको संरक्षण र सम्वर्धन गर्न स्थापित विशिष्टीकृत निकाय हो । सरकारले साविक केन्द्रीय बाल कल्याण समितिलाई राष्ट्रिय बाल अधिकार परिषदमा रुपान्तरण गरेको हो ।
संयुक्त राष्ट्र संघीय बाल कोष (युनिसेफ)ले रसुवा बाढीबाट प्रभावित झन्डै १७,००० बालबालिकालाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगको आवश्यकता रहेको जनाएको छ ।
त्यस्तै, अभिभावक वा संरक्षकविहीन तथा परिवारबाट छुट्टिएका ५०० भन्दा बढी बालबालिका उच्च जोखिममा रहेको र उनीहरूलाई संरक्षण सेवाको खाँचो रहेको युनिसेफले जनाएको छ ।
फाउन्डेसनले कक्षा १२ सम्म अध्ययन गर्न सहयोग गर्ने
फाउन्डेसनले बाढीबाट प्रभावित १८ वर्षमुनिका बालबालिकालाई कक्षा १२ सम्म अध्ययन गर्न सहयोग गर्ने जनाएको छ । सहयोगअन्तर्गत बालबालिकाको अवस्थाअनुसार शिक्षा, खाना, आवास, कपडा, स्वास्थ्य उपचार लगायत आधारभूत आवश्यकता पूरा गर्न खर्च गरिनेछ ।
सामाजिक सञ्जालमा लेख्दै घलेले बाढीको पानी घटेपछि पनि प्रभावित बालबालिकाको समस्या अन्त्य नहुने बताए ।
बाढीका कारण कतिपय बालबालिकाको जीवनमा कुनै पनि बालबालिकाले भोग्न नपर्ने खालको परिवर्तन आएको उल्लेख गर्दै उनले आफू र आफ्नी पत्नी ती बालबालिका र उनीहरूका परिवारले भोगेको अवस्थाबाट प्रभावित भएको जनाए ।
‘हामी भाग्यमानी महसुस गर्छौं कि कठिन समयमा मात्रै होइन, आगामी वर्षहरूमा पनि उनीहरूलाई सहयोग गर्न सक्छौँ, ताकि उनीहरूले आफ्नो शिक्षालाई निरन्तरता दिन सकून्, आधारभूत आवश्यकता पूरा होस् र भविष्यलाई आशाका साथ हेर्न सकून्,’ घलेले भने ।
उनले यो सहयोग रकममा मात्र सीमित नभएको बताए । बालबालिका हुर्कंदै जाँदा दीर्घकालीन रूपमा साथ दिने र उनीहरूले भोगेको कठिनाइले जीवनमा पाउने अवसर निर्धारण नगरोस् भन्ने उद्देश्य रहेको उनको भनाइ छ ।
‘सबैभन्दा महत्त्वपूर्ण कुरा, उनीहरूलाई आफूहरूलाई बिर्सिएको छैन भन्ने महसुस गराउन चाहन्छौँ,’ घलेले भने ।
अष्ट्रेलियामा बसोबास गर्ने घले दम्पतीले नेपालमा पाँचतारे होटल लगायत विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन् ।











प्रतिक्रिया