काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आफूले दमन नगर्न र गोली नचलाउन निर्देशन दिए पनि गोली चलाइएको बताएका छन् ।
शनिबार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आन्दोलनका क्रममा भएको गोलीकाण्ड योजनाबद्ध र षड्यन्त्रपूर्ण भएको बताए ।

अध्यक्ष ओलीले भदौ २३ गते नवयुवा तथा अन्य युवाको हत्या गराउने घटना योजनाबद्ध रूपमा गराइएको र त्यसलाई बहाना बनाएर भोलिपल्ट देशभर लुटपाट, हिंसा, आगजनी तथा अराजकता फैलाइएको बताए ।
ओलीले घटनामा बाह्य संलग्नता रहेको भन्दै विभिन्न अन्तर्राष्ट्रिय अध्ययन, अनुसन्धान, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका सामग्रीले समेत त्यसतर्फ संकेत गरेको बताए ।
उनका अनुसार आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन तथा विभिन्न नेताका घर जलाउने विषय घटनाअघि नै योजनाबद्ध रूपमा अघि बढाइएको थियो ।

‘अहिले विभिन्न प्रकारका अन्तर्राष्ट्रिय खोज, अध्ययन, अनुसन्धानवाला विभिन्न रिपोर्टहरूले पनि देखाएका छन् । सामाजिक सञ्जालहरूले देखाएका छन्, सञ्चारमाध्यमहरूले देखाएका छन् । त्यसकारण यसमा मैले धेरै केही भन्नुपर्दैन जस्तो लाग्दछ । गत वर्ष एउटा आम कत्लेआम, नरहत्याको योजना रचना गरियो । रचना गरेकै हो यो योजना । त्यस योजना अन्तर्गत २३ गते अनावश्यक ढंगले नवयुवाहरूको र अरु युवाहरूको हत्याको काण्ड घटाउने काम भयो योजनावद्ध ढंगले, षड्यन्त्रपूर्ण ढंगले । त्यसलाई निहुँ बनाएर भोलिपल्ट राष्ट्रव्यापी रूपमा लुटपाट, हिंसा, आतंक, अराजकता फिजाउनुथियो, त्यो फिजाइयो, २४ गते । अनि काँक्रा उनीहरूले चोरेर खाए, बियाँ हाम्रो गालामा ल्याएर टाँसे ।’ अध्यक्ष ओलीले भने, ‘केही हामीले भनेका हौँ, हाम्रो गालामा बियाँ टाँस्न ल्याउनुपर्दैन । यो षड्यन्त्र हामीले पनि बुझेका छौँ, नेपाली जनताले बुझेको छ । अझ हामी बुझाउँदै लानेछौँ । केहीले बुझेको नबुझ्यै गर्ने बुझ पचाउने, केही तत्त्वहरू त भन्छन्, यो बाहिरको कुनै हात होइन, यो भूराजनीतिको कुनै अर्थ छैन यहाँ । हामीले बिगारेको हो, हाम्रो नेतृत्वले बिगारेको हो आदि इत्यादि यस्ता खालका कुराहरू गर्नेहरू पनि छन् । उतैबाट छापेका छन्, खोज अध्ययन गरेर उतैको संलग्नता, बाह्य संलग्नता उतैबाट छर्लङ्ग छ । उतैबाट भण्डाफोर गर्छन्, यहाँकाहरु त्यसको डिफेन्ड गर्न जान्छन् । होइन, होइन, त्यो हाम्रै, हाम्रै भित्रको कुरा हो । गोली किन चलाएको त हाम्रै भित्रको हो भने ? हामीले त चलाएनौँ, नचलाउनु भनेको थियो । प्रधानमन्त्री म थिएँ, मैले नचलाउनु, दमन नगर्नु भनेको थिएँ । दमन भयो किन ? दमन हुनुभन्दा अगाडि तोडफोड हुनुभन्दा अगाडि आगजनी हुनुभन्दा अगाडि फोरकास्ट हुँदै गए । सिंहदरबार जलाउने कुरा यो ८२ भदौ २४ गते सिंहदरबार जलाउने कुरा त्यसै दिन चलेको ? उसै दिनको आक्रोश, आवेश, उत्तेजना मात्रै होइन, अगाडिदेखि चलेको थियो । हाम्रा घरहरू जलाइएका तस्वीरहरू अगाडिदेखि देखाइएका थिए । सिंहदरबार जलाएको तस्वीर अगाडिदेखि देखाइएको थियो । संसद भवन जलाइएका तस्वीर अगाडिदेखि देखाइएका थिए । त्यसर्थ यो वास्तवमा नेपाललाई अराजकताको भुमरीमा राखेर आफ्ना प्यादाहरुको कथित सरकार जडान गरेर आफ्ना स्वार्थहरू पूरा गर्ने षड्यन्त्रहरू यी कुराहरू भएका हुन् । देशमा संविधान छ, जनताले बनाएको संविधान छ । जनताले बनाएको, निर्वाचनद्वारा बनाएको सरकार छ भने असंवैधानिक ढंगले, गलत ढंगले त्यस संविधानलाई ध्वस्त पार्ने काम सडकबाट । केही हजार मान्छेले ३ करोड नेपालीले वैधानिक ढंगले दिएको फैसलालाई केही हजार मान्छे अगाडि सारेर मिलेमतो र साठगाँठका साथ ध्वस्त पार्ने काम । आज त्यसैको सिलसिलामा असंवैधानिक सरकार, असंवैधानिक प्रतिनिधि सभा विघटन, यसलाई वैधानिकता दिने २४ गतेको राष्ट्रिय दहन, राष्ट्रिय क्षति, त्यसका अपराधीहरूलाई छुट दिने त्यो कर्म अत्यन्त जायज र सामान्य हो भन्ने स्थापित गर्ने । यसका निम्ति आयोग बनाइए, कोही भएका आयोगहरू त्यसमा जिब्रो चपाएर बसे अथवा लहैलहैमा फैसला सुनाए अथवा प्राप्त भएका नतिजाहरू प्रकाशित गर्न डराए । जे जे भो, राम्रो भइराखेको छैन । संविधान सम्मत छैन, लोकतान्त्रिक विधिबाट नेपाल अगाडि बढाउन दिइएको छैन ।’
अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटनाक्रम संविधानसम्मत र लोकतान्त्रिक विधिअनुसार अघि नबढेको भन्दै नेपाललाई लोकतान्त्रिक प्रक्रियाबाट अघि बढ्न नदिइएको बताए ।












प्रतिक्रिया