काठमाडौं । नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्ष तथा बोल्सोई थिएटर स्थापना भएको २५० औं वार्षिकोत्सवको अवसरमा नेपाल–रुस थिएटर सप्ताह काठमाडौंस्थित रसियन हाउसमा सुरु भएको छ ।
शुक्रबार आयोजित उद्घाटन कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिना, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति ब्रजेश खनाल, नेपालस्थित रुसी दूतावासका मन्त्री–काउन्सिलर रिन्चेन रक्षाएभ लगायत रंगकर्मी तथा सांस्कृतिक क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो ।

शैली थिएटरको आयोजनामा सुरु भएको सप्ताहको पहिलो दिन अन्तोन चेखभको एकांकी नाटक ‘स्वान सङ’ अर्थात् ‘अन्तिम गीत’ मञ्चन गरिएको थियो । नवराज बुढाथोकीको निर्देशन रहेको नाटकलाई महेश पौड्यालले नेपालीमा अनुवाद गरेका हुन् । नाटकमा वरिष्ठ रंगकर्मी सुनील पोखरेल र सब्बु गुरुङले अभिनय गरे । उक्त नाटक सेप्टेम्बर १९ देखि २१ सम्म रुसी हाउसमा दैनिक दिउँसो २ः३० र ५ः३० बजे हुनेछ ।
सप्ताहअन्तर्गत महेश पौड्यालको मौलिक नेपाली नाटक ‘भावमल्ली’ पनि प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
नेपाल र रुसबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । दुवै देशबीचको सम्बन्धमा कला तथा संस्कृति महत्वपूर्ण माध्यमका रूपमा रहँदै आएको छ ।












प्रतिक्रिया