-सञ्जय खड्का
संस्कार, आस्था र चेतनाको पवित्र सङ्गम तथा वैदिक सभ्यता र नारी संवेदना बोकेको यो हरितालिका तीज आज जुन विकृतिको दलदलमा फस्दैछ, त्यसले हरेक संवेदनशील हृदयलाई गहिरोसँग ऐंठन गराउँछ।
विडम्बना! आज तीजका नाममा जुन छाडापन, उच्छृङ्खलता, र सङ्गीतविहीनताको कोलाहल भित्र्याइएको छ,यो मौलिकताको हत्या मात्र होइन, हाम्रो सांस्कृतिक पहिचानमाथिको गम्भीर प्रहार हो— जसको जति निन्दा गरे पनि पुग्दैन।
‘तीजको रहर आयो बरीलै…’ भन्दै मौलिकताको सुवास छर्ने तीजका भाकाहरू ‘पोइल जान पाउँ शिव, पोइल जान पाउँ…’ सम्म आइपुग्दा केही विचलित अवश्य भएका थिए, तर मर्म नै मरेको थिएन। तर, विडम्बना! आज तीजका नाममा जुन छाडापन, उच्छृङ्खलता, र सङ्गीतविहीनताको कोलाहल भित्र्याइएको छ,यो मौलिकताको हत्या मात्र होइन, हाम्रो सांस्कृतिक पहिचानमाथिको गम्भीर प्रहार हो— जसको जति निन्दा गरे पनि पुग्दैन।
रातो साडी र चोली केवल पहिरन होइनन्— ती पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको नारी सौन्दर्य, संस्कार र सांस्कृतिक स्मृतिका प्रतीक हुन्। तर त्यही सौन्दर्यलाई भद्दा प्रदर्शनमा रूपान्तरण गरिनु लज्जाको विषय हो ।
२१ गीतको व्यङ्गात्मक चिरफार
तीजको नाममा भित्रिएका तिनै सांस्कृतिक विचलन र मर्यादा भत्काउने एक्काइसवटा प्रतिनिधि गीतहरूको सङ्गीतिक व्यङ्गात्मक चिरफार गरौं ।
१) ‘राँगोले भैंसीलाई, गोरुले गाईलाई गरे जस्तै माया गर न मलाई !’
अहिलेका चर्चित कमेडियन अर्मेन्द्र यादव तीजको यो छाडा गीत देखेपछि टाउको समातेर भन्छन्— ‘ए दिदी ! तीजको व्रत त असल श्रीमान् पाउन पो बसिन्छ, गोठमा गोरु–राँगाको जनसङ्ख्या बढाउन कसले व्रत बस्छ हौ ? तीज राम्रो श्रीमान पाउनलाई गर्छ, गोरु राँगा पाउनका लागि को गर्छ हौ ?’
एउटा केटा मान्छेले के गाउँछ भने– ‘मसँग गन् छ, पड्काउन मन छ । छोरो जन्मिन्छ, जिन्दगी बन्छ !’ ए दाजु ! गन् भनेको बन्दुक हो, बन्दुकले त गोली पो फ्याँक्छ, बीयु कसरी फ्याँक्छ ?
अनि फेरि— ‘झरीले भिजायो, ऐया ! ऐया !’
जब झरीले भिजाउँछ भने पानीले किन नुहाउने ? फेरि नुहाउँदा खेरि पनि–‘ऐया ! ऐया !’ अहिलेसम्म त्यो नारी भिजेकैछ, सुकेको छैन ।त्यतिकैमा आएर, एउटा केटा मान्छेले के गाउँछ भने– ‘मसँग गन् छ, पड्काउन मन छ । छोरो जन्मिन्छ, जिन्दगी बन्छ !’ ए दाजु ! गन् भनेको बन्दुक हो, बन्दुकले त गोली पो फ्याँक्छ, बीयु कसरी फ्याँक्छ ?
२) ‘व्रत बसम् भनेको झ्याम्पै पर सरियो, त्यही भएर बियर पिउने पलान गरियो !’
ए बहिनी, तिम्रो यो ‘पलान’ सुन्दा त लाग्यो— तिम्रो व्रत सरिएको होइन, तिम्रो दिमाग नै अलि पर सरेको हो! व्रत बस्न मिलेन भन्दैमा त्यही दिन सोझै वियरको बोतल ठड्याउने? भोलि टाउको दुख्यो भने बोतलले दुख्यो भन्ने कि ब्रतले दुख्यो भन्ने ?
३) ‘यो मायाले केके गरायो, ओई के गरायो ! चुरा फुट्यो, पाउजुनी हरायो मकैबारीमा !’
अब मकैबारीमा चुरा कसरी फुट्यो र पाउजु कसरी हरायो भन्ने रहस्यको गाँठो फुकाउँदै गीत अघि बढ्छ— ‘लग्यो मलाई झिल्केले मकैबारीमा !’ त्यसपछिको घटनाक्रमको संक्षिप्त ¥याप रिपोर्ट सुन्नुहोस्— ‘म आउँछु रातो साडीमा, तिमी आउनु बेबी चिल्लो गाडीमा, हानुला गफ लुकेर झाडीमा ! बगाइदिन्छु म तिमीलाई मायाको बाढीमा, रसिलो ओठ, कसिलो ज्यान छ, चौबिसै घण्टा…!’
के साहित्य, के कला! यत्रो ‘झाडी र बाढी’को तमासा सिद्धिएपछि गीतको अन्तिम निचोड आउँछ— ‘दागै बसेछ नि मेरो रातो सारीमा !
के साहित्य, के कला! यत्रो ‘झाडी र बाढी’को तमासा सिद्धिएपछि गीतको अन्तिम निचोड आउँछ— ‘दागै बसेछ नि मेरो रातो सारीमा !’ वहा! मकैबारीमा गएर हरियो मकै भाँच्नु छैन, साडीमा लगाउन लगाएको दाग देखाएर गाउँभरि माइकिङ गर्दै हिँड्ने?
४) ‘डाक्टरकोमा जाऊ बुढा, वैधकोमा जाऊ, त्यतिले नि नभए यार्सागुम्बा खाऊ !’
ए बहिनी! श्रीमान्लाई डाक्टर र वैधकहाँ पठाएर यार्सागुम्बा थमाउनुअघि, बरु तिमी आफैँ घरको मुला–काँक्रा खाएर दिमाग चिसो बनाऊ न! तीजको गीत हो कि जडीबुटी क्लिनिकको विज्ञापन ?
४) ‘…मैले भन्या नमानेपछि छुट्टै रुममा सुत्छु !’
ए बहिनी, यो घुर्की तिम्रो बुढालाई हानेको कि देशवासीलाई? घरभित्र बेडरुमको सुत्ने कुरा युट्युबमा माइक जोडेर दुनियाँलाई सुनाउनै पर्ने?
६) ‘छमछम नाँचिन्छ, कम्मर भाँचिन्छ, परिआए संसारै तोडिन्छ, यसपालीको दर खाने दिन ह्विस्की फोडिन्छ !’
ए बहिनी, ह्विस्की नै प्याक हान्न मन लागेको भए घरभित्र सुटुक्क गटकिए भइहाल्थ्यो नि! सिङ्गो गाउँ नै बहिरो हुने गरी साउण्ड बक्स पड्काएर यो कहीँकतै नभएको ‘ह्वास्की ताण्डव’ देखाउनै पर्छ र ?
७) ‘वाउ नाइस साँइली सुलुत्त, कुखुराले फुल पार्यो भुँइमा फुलुत्त !’
ए भाइ! यो हाम्रा दिदीबहिनीहरूको पवित्र तीज पर्व हो, ठमेलको मध्यरातको डान्स बार होइन! कि आँखामा मोतिविन्दु भएर तीज र कुखुराको फुल एउटै देख्न थालेका हौ ?
८) ‘मेरो जीवन, मेरो खुशी, मेरै जोबन !’
ए बहिनी, ‘योर लाइफ, योर च्वाइस!’ एकदम सही कुरा, हामी मान्छौँ। तर च्वाइसको नाममा गीतमा त्यो भद्दा, उरन्ठ्याउलो र अनौठो हर्कतको डान्स चाहिँ किन? तीजको संस्कृति जोगाउन नाचेको हो कि भुइँचालो मापन गर्ने स्केलग्रयाफ हल्लाउन ?
९) ‘कस्तो हुन्छ होला बिहे गरेको राति, थाहा भएको भए भन्देऊ न साथी !’
बहिनी, यस्तो गम्भीर र संवेदनशील विषय म जस्तो सोझो मान्छेलाई नसोध न ! मेरो एउटै बिन्ती– दशकोंको ’फिल्ड एक्सपिरियन्स’ भएका भनेर आफ्ना घरपरिवारका सदस्यलाई चाहिँ नसोध है बहिनी ।
१०) ‘अरु त के चाहियो केटी हो, एक लाखको त सारी नै लाकी छु !’
अनि त्यसपछि ? १ लाखको सारीमा ३० रुपैयाँको चटपटे र २० रुपैयाँको पानीपुरी खाएको भिडियो बनाउने ? १ लाखको सारी लाएर भुइँ पुछ्दै हिँडेको देखेपछि छिमेकी दिदीहरूले त बालै दिएनन् त ! अब के गर्छौ मेरी प्यारी दिदी ?
११) ‘एउटा मच्छेद कानमा आएर झुन्डियो, कन्यादेको एकैछिनमा सुनियो । नील यता !’
ए भाइ, लामखुट्टेले टोक्दा निल कहिलेदेखि तल पर्न थाल्यो ? डाक्टरलाई देखाऊ, यो लामखुट्टेको टोकाइ होइन, अर्कै काण्ड जस्तो छ !
फेरि केटीको कुरा आउँछ, ‘एउटा मच्छेड आउँछ टोक्न, सक्दैन र औषधिले रोक्न ! निले निले त, कुन मच्छेडले टोक्यो मलाई लाग्यो रिङ्गटा !’
बहिनी, तिम्रो कुरा सुन्दा समस्या धेरै जटिल देखिन्छ । डेंगी परीक्षण गराउन जाऊ, त्यताबाट पार नलागे कृपया, एकपटक मानसिक अस्पताल धाऊ ?
१२) ‘देखाउने खसी, खुवाउने फर्सी, त्यो पनि पर्सी !’
वाह नानी वाह! खगेन्द्र सुनुवारको चर्चित डाइलग टप्प टिप्यौ, क्रेडिट दिने बेलामा दिमाग ‘अफ’ भयो, रोयल्टीको त कुरै छाडौँ। बहिनी, तिमीले खुवाउन खोजेको फर्सी चाहिँ कस्तो हो ?
१३) ‘सर्कियो मन सरसरसर !’
भात सर्किएको सुनेको थिएँ, पानी सर्किएको पनि थाहा थियो… यो ‘मन’ चाहिँ कसरी सर्किन्छ हौ ? अनि उपचारको नाममा के सुँघेको नी? डक्सिन, बाम कि सञ्चो ?
१४) ‘खुस्स, खुस्स, आज पनि गनायौ हे बुढा– तिमी ठुस्स ठुस्स ठुस्स !’
अहा! क्या काव्यिक चेत, क्या गहिरो भाव! नेपाली साहित्यका महाकविहरूले यो गीत सुनेको भए पक्कै सिरक ओढेर रुने थिए। भेन्टिलेसन नभएको कोठाको कथा यति मर्मस्पर्शी ढङ्गले गाउनु पनि एउटा कला नै हो दिदी! वाह दिदी वाह !
१५) ‘टिकटकमा भाइरल त हल्लाएरै हो । हल्लाएरै हो केटा हल्लाएरै हो !’
के चाहिँ हल्लाएर हो ? यता आफन्त र छिमेकीहरु अलमलमा परेका छन् । कृपया, अलिक प्रस्ट पारिदिनुहोला !
१६) ‘काले के–के बोल्योबोल्यो मलाई, बिस्ताराले पोल्यो । सिरानेले घोच्यो !’
बिस्ताराले पोल्यो भने त सिरक फ्यालेर बाहिर निस्क, सिरानेले घोच्यो भने सिरानी फेर! अझै भएन भने कोशीमा गएर एक डुबकी लगाऊ, कालेको भूत र बिस्ताराको राप दुवै एकैछिनमा साफ! बात कर्ती है !
१७) ‘मायाको पोको चोखो छ चोखो, दिन्नँ म लरी लरी लै !’
हैन, कस्तो खाल्को पोको होला त्यो ? कृपया, प्रकाश पारिदिनुपर्यो । प्लास्टिकमा बाँधेर राख्या छौ कि डी–फ्रिजमा? नसड्दै कसैलाई दिए भइहाल्थ्यो नि, यत्तिकै ‘लरी लरी लै’ गर्दागर्दै कुहिएला है!
१८) ‘मेरो तारिफ गर्छन् । केटाहरु मलाई देखे ठाउँको ठाउँ ढल्छन् !’
दिदी, केटाहरू तिम्रो सुन्दरता देखेर ढलेका होइनन्, तिम्रो यो गीत सुनेर ‘हार्ट अट्याक’ आएर ढलेका हुन् ! म त सिधै कोमामा पुगेँ, नो कमेन्ट!
१९) ‘गर्न सम्म गर्यो, केटो चालु पर्यो, लौ न, केटो चालु पर्यो !’
ए बहिनी, तिमी यो कुरा सुनाएर रुँदै छौ कि नाचिरहेकी छौ?‘केटो चालु पर्यो’ भन्दै ठुम्का हान्ने तिम्रो यो स्टाइल देखेर चालु केटो पनि अलमलमा पर्यो होला!
२०) ‘मुनतिर भेनाको जुल्फी लरक्कै !’
हैन, भेना तिम्रो, जुल्फी तिम्रै भेनाको… अनि यो सासू–ससुरा र गाउँलेले सुन्ने गरी भित्री कथा सामाजिक सञ्जालमा किन भनिरहेकी छौ? अलिअलि त पारिवारिक गोपनीयता राख न नानी!
२१) ‘हेर्ने हो र, देखाइदिम् !’
भैगो बहिनी, कति पनि पर्दैन! दया गरेर केही नदेखाऊ। चुपचाप घर जाऊ, आमाले बेलुकाको खाना बनाएर तिमीलाई पर्खिरहनुभएको छ, गाली खाल्यौ फेरि!
निष्कर्ष-
कहाँ हरायो–
गीतको कला, कहाँ पुग्यो भाव ?
मर्यादाको जगमै आज देखियो अभाव !
तीज त थियो—
आस्था, आत्मीयता र वेदनाको भाका,
तर आज छाडापन र उच्छृङ्खलताको भाका ?
मर्यादा भुल्नु आधुनिकता होइन,
मौलिकता मार्नु कुनै स्वतन्त्रता होइन ।
हामीलाई संस्कृति चाहिन्छ, विकृति होइन,
स्वतन्त्रता चाहिन्छ, स्वेच्छाचारिता होइन ।
मौलिकताको निभ्न लागेको दियो बालौँ,
विकृतिको यो कालो आँधीलाई अब रोकौँ,
आस्थालाई अन्धभक्ति होइन, विवेकसँग जोडौँ,
परम्परालाई संकीर्णता होइन, चेतनासँग जोडौँ ।
अब, आजै, अहिल्यै एउटा दृढ प्रण गरौँ—
तीज जोगाऔँ, हाम्रो मौलिक संस्कार जोगाऔँ !











प्रतिक्रिया