२८ आश्विन २०८३, बुधबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चंगा, ड्रोन र बेलुन उडाउन रोक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान सुरक्षालाई ध्यानमा राख्दै विमानस्थल तथा आसपासका क्षेत्रमा चंगा, ड्रोन, बेलुन उडाउन र विमानतर्फ लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै हवाई आवागमन हुने क्षेत्र तथा विमानस्थल आसपास यस्ता गतिविधि नगर्न सम्बन्धित सबैलाई अनुरोध गरेको हो ।

कार्यालयका अनुसार चंगा, ड्रोन तथा बेलुन उडाउने र विमानमा लेजर लाइट देखाउने जस्ता गतिविधिले विमानको उडान सुरक्षामा गम्भीर असर पार्नसक्ने जोखिम रहेको छ । त्यसैले यस्ता गतिविधि नगर्न तथा नगराउन सम्बन्धित व्यक्ति, संस्था र सर्वसाधारणलाई आग्रह गरिएको छ ।

सूचनामा प्राधिकरणको निर्देशन अटेर गरी कसैले चंगा, ड्रोन, बेलुन उडाएको वा विमानतर्फ लेजर लाइट प्रयोग गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

विमानस्थलको सुरक्षित हवाई आवागमन सुनिश्चित गर्न यस्तो गतिविधि नियन्त्रण आवश्यक रहेको प्राधिकरणले जनाएको छ ।