काठमाडौं । मुक्तिनाथ विकास बैंक र गुड कर्मा ग्रुप अफ कम्पनीज प्रा.लि अन्तर्गतको कर्मा रेसिडेन्सिजबीच आवास तथा अपार्टमेन्ट खरिदका लागि कर्जा सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार कर्मा रेसिडेन्सिजमा घर तथा अपार्टमेन्ट खरिद गर्न चाहने योग्य ग्राहकलाई बैंकले प्रचलित नीति तथा मापदण्डअनुसार सहज रूपमा आवास कर्जा उपलब्ध गराउनेछ ।
सम्झौतामा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र कर्मा रेसिडेन्सिजका अध्यक्ष कर्मा तेन्जिङले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार योग्य ग्राहकले बैंकको प्रचलित आधार दरमा ०.२५ प्रतिशतसम्म प्रिमियम थप गरी आवास कर्जा प्राप्त गर्न सक्नेछन् । यस्तो कर्जाको अधिकतम अवधि ३० वर्षसम्म रहनेछ ।
यस सहकार्यबाट कर्मा रेसिडेन्सिजको आवासीय परियोजनामा घर तथा अपार्टमेन्ट खरिद गर्ने ग्राहकलाई आवश्यक वित्तीय स्रोत जुटाउन सहज हुने अपेक्षा गरिएको छ ।
बैंकका अनुसार कर्जा सुविधा ग्राहकको योग्यता, क्रेडिट मूल्यांकन, सम्पत्तिको मूल्यांकन तथा कानुनी र प्राविधिक परीक्षणलगायत बैंकका प्रचलित नीति तथा मापदण्डका आधारमा उपलब्ध गराइनेछ ।
मुक्तिनाथ विकास बैंकले आवास कर्जाका साथै अटो, कृषि तथा एसएमईलगायत विभिन्न प्रकारका कर्जा सुविधा प्रतिस्पर्धी ब्याजदरमा उपलब्ध गराउँदै आएको जनाएको छ ।
सम्झौताले कर्मा रेसिडेन्सिजका सम्भावित ग्राहकलाई घर तथा अपार्टमेन्ट खरिदका लागि आवश्यक वित्तीय व्यवस्थापन गर्न थप सहज हुने बैंकको विश्वास छ ।











प्रतिक्रिया