२८ आश्विन २०८३, बुधबार

तीज कार्यक्रम स्थगित गर्दै एनआरएनए लक्जेम्बर्गको भोटेकोशी बाढीपीडितलाई सहयोग

१० लाख ५० हजार हस्तान्तरण, थप १५ लाख संकलन गर्ने लक्ष्य

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लक्जेम्बर्ग । नेपालमा आएको विनाशकारी बाढीपहिरोले धेरै परिवारको जीवन अस्तव्यस्त बनाइरहेका बेला गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) लक्जेम्बर्गले तीजको कार्यक्रम स्थगित गर्दै भोटेकोशी बाढीपहिरोपीडितको सहयोगका लागि च्यारिटी डिनर आयोजना गरेको छ । तीज मनाउने तयारीमा जुटेको नेपाली समुदायले विपद्को पीडालाई प्राथमिकतामा राख्दै उत्सवलाई राहत अभियानमा रूपान्तरण गरेको हो ।

एनआरएनए एनसीसी लक्जेम्बर्गले सेप्टेम्बर १३ मा तीज कार्यक्रम आयोजना गर्ने तयारी गरेको थियो । कार्यक्रमका लागि हल समेत बुक भइसकेको थियो । तर, अगस्ट २६ मा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको र धेरै परिवार विचल्लीमा परेको दुःखद् अवस्था देखेपछि पूर्वनिर्धारित कार्यक्रमलाई निरन्तरता नदिने निर्णय गरिएको थियो ।

कार्यक्रमका लागि करिब दुई सातामात्र समय बाँकी रहेका बेला तीज कार्यक्रमको सट्टा बाढीपीडितको सहयोगार्थ च्यारिटी कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको एनआरएनए लक्जेम्बर्गले जनाएको छ । यसअघि च्यारिटी कार्यक्रम आयोजना गरेको अनुभव नभए पनि विपद्मा परेका परिवारलाई आफ्नोतर्फबाट सानो भए पनि सहयोग गर्नुपर्छ भन्ने मानवीय भावनाका साथ छोटो समयमै कार्यक्रमको तयारी तथा व्यवस्थापन अघि बढाइएको थियो ।

च्यारिटी डिनरमा नेपालका पूर्वमानार्थ वाणिज्यदूत, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा नेपाली र गैरनेपाली समुदायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा भोटेकोशी बाढीपहिरोबाट प्रभावित परिवारको अवस्था, उनीहरूलाई आवश्यक सहयोग तथा विपद्का बेला प्रवासमा रहेका नेपाली समुदायले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गरिएको थियो ।

कार्यक्रमको सञ्चालन एनआरएनए एनसीसी लक्जेम्बर्गका महासचिव नवज्योत न्युरे र सह–कोषाध्यक्ष राधिका खत्रीले गरेका थिए । सहभागीहरूले नेपालमा परेको विपद्को पीडामा प्रवासमा रहेका नेपालीहरू एकजुट भएर सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको समापन गर्दै एनआरएनए एनसीसी लक्जेम्बर्गका अध्यक्ष दुर्गा केसी थापाले देशमा परेको पीडामा आफू र एनआरएनए लक्जेम्बर्गको तर्फबाट केही भए पनि मल्हम लगाउने प्रयास गरिएको बताइन् ।

अध्यक्ष थापाले विपद्को समयमा उत्सव र मनोरञ्जनभन्दा मानवीय दायित्वलाई प्राथमिकता दिनुपर्ने बताइन् । उनले तीज कार्यक्रम स्थगित गरेर च्यारिटी कार्यक्रम आयोजना गर्नुको उद्देश्य भोटेकोशी बाढीपहिरोबाट प्रभावित परिवारको पीडामा प्रवासी नेपाली समुदायको साथ र सहयोग पुर्‍याउनु रहेको स्पष्ट पारिन् ।

‘देशमा परेको पीडामा हामीले आफ्नो तर्फबाट केही भए पनि मल्हम लगाउने प्रयास गरेका छौँ,’ अध्यक्ष थापाले भनिन्, ‘यो अभियान केवल लक्जेम्बर्गमा रहेका नेपालीको मात्र नभई संसारभर रहेका नेपालीको साझा अभियान बन्नुपर्छ ।’

उनले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई विपद्मा परेका नेपालीको सहयोगका लागि आ–आफ्नो क्षमताअनुसार योगदान गर्न आग्रह गरिन् । देशमा संकट पर्दा प्रवासमा रहेका नेपालीहरूले सहयोगको हात अगाडि बढाउनु आफ्नो सामाजिक तथा मानवीय दायित्व भएको उनको भनाइ थियो ।

एनआरएनए एनसीसी लक्जेम्बर्गले भोटेकोशी बाढीपहिरोपीडितका लागि प्रारम्भिक रूपमा १५ लाख सहयोग संकलन गर्ने लक्ष्य लिएको छ । समुदायबाट प्राप्त उत्साहजनक साथ, सहयोग र सद्भावलाई ध्यानमा राख्दै प्रारम्भिक लक्ष्यभन्दा बढी रकम संकलन गर्ने प्रयास समेत निरन्तर जारी राखिएको संस्थाले जनाएको छ ।

यसअघि नै लक्जेम्बर्गमा रहेका नेपाली समुदायले एनआरएनए एनसीसी लक्जेम्बर्गमार्फत १० लाख ५० हजार रुपैयाँ राहतस्वरूप पठाइसकेको छ । च्यारिटी कार्यक्रम तथा अन्य सहयोग संकलन अभियानमार्फत थप रकम संकलन गर्ने कार्य समेत जारी रहेको संस्थाले जनाएको छ ।

तीजको सांस्कृतिक उत्सवका लागि बुक गरिएको हलमा बाढीपीडितका लागि सहयोग जुटाउनु एनआरएनए लक्जेम्बर्गको सामाजिक उत्तरदायित्वको उदाहरण बनेको छ । रमाइलोका लागि छुट्याइएको समयलाई राहत संकलनमा बदल्दै संस्थाले विपद्का बेला प्रवासी नेपाली समुदायले निर्वाह गर्नुपर्ने भूमिकालाई व्यवहारमै प्रस्तुत गरेको छ ।

अध्यक्ष थापाले अभियानमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघसंस्था तथा नेपाली र गैरनेपाली समुदायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत भोटेकोशी बाढीपहिरोपीडितको राहत र पुनःस्थापनाका लागि सहयोग जारी राख्न आग्रह गरेकी छन् ।