बग्दाद । मध्यपूर्वमा द्वन्द्व विस्तार भइरहेका बेला इराकबाट प्रहार गरिएका ड्रोनको आक्रमणपछि साउदी अरबले एउटा महत्त्वपूर्ण तेल पाइपलाइन बन्द गरेको छ ।
इरानसँग सीमा जोडिएको आफ्नो एउटा प्रान्तबाट छिमेकी मुलुकको पूर्वपश्चिम पाइपलाइनमा ड्रोन आक्रमण भएको स्वीकार गरेपछि इराकले एक सैन्य कमाण्डरलाई बर्खास्त गरेको र घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।
साउदी अरबले यसअघि नै इराकमा रहेका इरान-समर्थित लडाकु समूहहरूले आफ्ना तेलसम्बन्धी संरचनाहरूलाई निशाना बनाएको आरोप लगाउँदै आएको छ ।
१,२०० किलोमिटर अर्थात ९७४५ माइल लामो यो पाइपलाइनले विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरबलाई ‘स्ट्रेट अफ हर्मुज’को प्रयोग नगरी तेल ढुवानी गर्न मद्दत पुर्याएको छ ।
यो घटना यमनमा इरान-समर्थित हुथी विद्रोहीहरूको बढ्दो प्रभावका बीच भएको हो । यसले विश्वव्यापी तेल ढुवानी मार्गहरूमा थप दबाब सिर्जना गरेको छ, विशेष गरी अमेरिका र इरानबीचको तनावपूर्ण अवस्था सातौं महिनामा प्रवेश गरिरहँदा याे अप्रत्याशित हमला भएकाे हाे ।
शुक्रबार, साउदी समर्थित यमनी सरकारी फौजले रणनीतिक महत्त्वको तटीय सहर ‘मोखा’ मा हुथी लडाकुहरूमाथि प्रहार गरेको जनायो । हुथी विद्रोहीहरूले लाल सागरको सम्पूर्ण तटीय क्षेत्र आफ्नो नियन्त्रणमा लिएको भोलिपल्ट यो कारबाही भएको हो ।
घटनास्थल नजिकै डढेको जमिन र धुवाँ देखिएका स्याटेलाइट तस्बिरहरू सार्वजनिक भएपछि रियादले शुक्रबार सावधानीस्वरूप उक्त पाइपलाइन बन्द गरेको जानकारी दियो । विदेश मन्त्रालयले आक्रमणका कारण केही व्यक्ति घाइते भएको र भौतिक क्षति पुगेको जनाएको छ, क्षतिको विवरणको अझै मूल्याङ्कन भइरहेको छ ।
जहाज ट्र्याकिङ कम्पनी र विश्लेषकहरूलाई उद्धृत गर्दै साउदीको यो पाइपलाइनमार्फत विश्वव्यापी तेल आपूर्तिको ४ देखि ५ प्रतिशत हिस्सा ढुवानी हुँदै आएको छ ।
उता, इराकका प्रधानमन्त्रीको आग्रह पछि साउदी अरबले तत्कालका लागि कुनै जवाफी कारबाही नगर्ने निर्णय गरेको त्यहाँको विदेश मन्त्रालयले जनाएको छ । साे मन्त्रालयले छिमेकी मुलुकहरू विरुद्ध इराकको भूमिबाट हुने आक्रमणहरू रोक्न इराकी सरकारले गर्ने प्रयासहरूमा साउदी अरबले समर्थन गर्ने बताएको छ ।
‘साउदी अरब अधिराज्यले आफ्नो सार्वभौमिकता र सुरक्षाको रक्षा गर्न, आफ्ना संरचनाहरू जोगाउन तथा आफ्ना नागरिक र त्यहाँ बसोबास गर्नेहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक सबै कदम चाल्ने अधिकार आफूसँग सुरक्षित रहेको कुरा पुनः स्पष्ट पार्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
इराकी प्रधानमन्त्रीको कार्यालयले जारी गरेको छुट्टै विज्ञप्तिमा इरानसँग सीमा जोडिएको मेसान प्रान्तका अपरेसन कमान्डरुलाई पदबाट हटाइएको उल्लेख छ, उक्त ड्रोन आक्रमण सोही क्षेत्रबाट गरिएको पुष्टि भएपछि यो निर्णय लिइएको हो ।
इराकी भूमिबाट तेलसम्बन्धी संरचनाहरूमा ड्रोन आक्रमण गरेको आरोप लगाउँदै साउदी अरबले यसअघि अमेरिकाको सहकार्यमा इराकमा रहेका इरान-समर्थित लडाकु समूहहरू विरुद्ध आक्रमणहरू गरिसकेको छ ।
साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान, कतार र कुवेतका प्रतिनिधिहरू सम्मिलित ‘खाडी सहयोग परिषद्’ले पनि उक्त आक्रमणको निन्दा गर्दै विज्ञप्ति जारी गरेको छ ।











प्रतिक्रिया