काठमाडौं । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचारका लागि पुगेकी महिलाले अस्पताल परिसरबाहिरै बच्चा जन्माउनुपरेको घटनाको छानबिन गर्न स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलको संयुक्त टोली राजविराज जाने भएको छ ।
घटनाको वास्तविकता पत्ता लगाउन नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठ, एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली आजै राजविराज पुग्नेछ । मन्त्रालयको तर्फबाट उपचारात्मक सेवा महाशाखाका प्रमुख डा. पवनजंग रायमाझी पनि टोलीसँगै स्थलगत अध्ययनका लागि जाने भएका छन् ।
महिलाले अस्पतालको गेट तथा परिसरबाहिरै प्रसूति गराउनुपरेको घटना सार्वजनिक भएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले त्यसलाई गम्भीर रूपमा लिँदै छानबिन अघि बढाएको हो । मन्त्रालयले घटनाको सम्बन्धमा अस्पताल प्रशासनसँग लिखित स्पष्टीकरणसमेत मागिसकेको जनाएको छ ।
छानबिनबाट कसैको लापरबाही वा कानुनविपरीतको कार्य भएको देखिएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने मन्त्रालयको भनाइ छ ।











प्रतिक्रिया