काठमाडौं । गृहमन्त्री सुदन गुरूङले पुराना दललाई सुध्रिन आग्रह गरेका छन् ।
आज जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अझै पनि पुराना दलका नेताहरूले जेन्जी आन्दोलनलाई अपमान गरिरहेको भन्दै सुध्रिन चेतावनी दिएका हुन् ।
जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हुने उनको भनाइ छ ।
उनले भने, ‘यो आन्दोलनलाई अपमान गर्नुहुन्छ भने तपाईँले ३ करोड नेपाली जनतालाई अपमान गरिराख्नुभएको छ, यो पनि स्मरण रहोस्। त्यही भएर सुध्रिनुस्। अझै पनि समय छ सुध्रिनुस्। त्यही पुरानो सोचले नयाँ नेपाल तपाईँले बनाउन सक्दैन। भदौ २३ मा पनि हामी तपाईँको सत्ताको पछाडि थिएनौँ। न त हामीलाई सत्ताको लोभ नै छ, न त शक्तिको घमण्ड नै छ। अहिले पनि छैन।’
उनले थपे, ‘अझै पनि पुराना दलका केही साथीहरूले हाम्रो आन्दोलनलाई अझै पनि विभिन्न तरिकाले व्याख्या गरेको देख्दाखेरि अचम्मै लाग्छ। उहाँहरू सबै जनालाई भन्न चाहन्छु, त्यो दिन इतिहास हो र इतिहास कसैले फेरेर फेरिँदैन। इतिहासलाई फेर्ने कोसिस पनि नगर्नुस्।’











प्रतिक्रिया