स्पेन । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोपको अध्यक्षमा बेल्जियमका शालिकराम थपलिया निर्वाचित भएका छन् ।
स्पेनको बार्सिलोनामा सम्पन्न प्रथम अधिवेशनले थपलियालाई अध्यक्षमा निर्वाचित गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा विनोद न्यौपाने (बेल्जियम), सचिवमा राघवेन्द्रप्रताप कार्की (रविन) (डेनमार्क) र उपसचिवमा बाबा राजेश्वरी थापा (अष्ट्रिया) र गोविन्द साकोटा (यूके) चयन भएका छन् ।

सदस्यहरूमा सुनिल रानाभाट (स्पेन), ईश्वर देवकोटा (पोल्याण्ड), केदार थपलिया (यूके), केशवराज पाण्डे (नेदरल्याण्ड), तिलक भट्टराई (यूके) र तुलसीनाथ सुवेदी (बेल्जियम) चयन भएका छन् ।
नेकपा (एमाले)का सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा एमाले केन्द्रीय सदस्य एवं युरोप–ओसियाना इन्चार्ज सञ्जय थापा, केन्द्रीय सदस्यहरु महेश बर्तौला, आरसी लामिछाने, ओएनएफका उपसचिव प्रभुराम थापा, अमेकिरा महादेश अध्यक्ष यमुना भट्टराई लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

अधिवेशनले निवर्तमान संयोजक मुक्तबहादुर गुरुङको राजनीतिक प्रतिवेदन र सचिव शालिक थपलियाले प्रस्तुत गरेको सांगठानिक एवं आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
अधिवेशनले हालै रसुवा–नुवाकोट–धादिङ क्षेत्रमा भोटेकोशीबाट आएको बाढीले दिवंगत भएका सम्पूर्ण व्यक्तिहरुप्रति हार्दिक समवेदना व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ भने सुरुङमा फसेका सबैको सकुशल उद्धारमा लागेका सुरक्षाकर्मीप्रति धन्यवाद ज्ञापन गरेको छ ।
यसैगरी, सरकारले शीघ्र कदम नचाल्दा र सुरुका दिनमा गैरजिम्मेवाररुपमा प्रस्तुत हुँदा सुरुङ उद्धारमा ढिलाई हुनुको साथै स्वविज्ञताले बेपत्ताहरुको जीवनरक्षाको सवाल चुनौतीपूर्ण भएकोमा अधिवेशन दुःख समेत व्यक्त गरेको छ । साथै, विस्थापित जनताको पुनःस्थापनाको लागि र तत्कालै सञ्चालनमा ल्याउनु पर्ने पूर्वाधारहरुको वैकल्पिक व्यवस्थाको लागि समेत अधिवेशन जोडदार माग गरेको छ ।
यस्तै, अधिवेशनले प्रवासी नेपालीको मुद्धामा स्पष्ट सम्बोधन गर्न सरकारसँग माग गरेको छ । ‘प्रवासी नेपालीहरुको साझा मुद्धा नेपाली नागारिकताको निरन्तरताको सवालमा जस्ता परोक्ष मुद्दाहरुमा पार्टी सरकारमा हुँदा पर्याप्त ध्यान नपुगेको ठहर गर्दै आगामी दिनमा सरकारमा होस वा सरकार बाहिर यस्ता मुद्दामा प्रष्ट धारणासहित सम्बोधनको लागि यो अधिवेशन जोडदार माग गर्दछ,’ घोषणापत्रमा भनिएको छ ।
यसैगरी, अधिवेशनले नेकपा (एमाले)भित्र देखिएको भनिएको अनावश्यक टिकाटिप्पणी रोक्न पार्टीका नेता कार्यकर्ता सबैलाई आग्रह गरेको छ ।
घोषणापत्रमा भनिएको छ, ‘हालै पार्टीभित्र देखिएको भनिएको अनावश्यक छलफल र नेताहरुको सार्वजनिक टिकाटिप्पणी प्रति यो अधिवेशनको गम्भीर ध्यानआकर्षण भएको छ । पार्टी विषम परिस्थितिमा रहेको बेला यस्ता प्रकारका व्यवहारले न त प्रवास न घरबासमा रहेका कार्यकर्ताहरुको मनोबल बढ्छ– तत्काल यस्ता क्रियाकलाप बन्द गरी सुक्ष्म समीक्षासहित नेतृत्वगणको विवेक र वैधानिक समाधानको लागि यो अधिवेशन आह्वान गर्दछ ।’











प्रतिक्रिया