काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने भएको छ। यससम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा तीनवटै वित्तीय संस्थाका प्रतिनिधिबीच हस्ताक्षर भएको छ।
वित्तीय क्षेत्रलाई थप सुदृढ बनाउने, संस्थागत क्षमता विस्तार गर्ने तथा व्यवसायको दायरा बढाउने उद्देश्यले मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई प्राप्ति गर्ने प्रक्रिया अघि बढाएको हो।
सम्झौतापछि अब प्रस्तावित प्राप्ति प्रक्रियाका लागि आवश्यक विस्तृत अध्ययन तथा मूल्याङ्कनको काम अघि बढाइनेछ। त्यस क्रममा तीनवटै संस्थाको सम्पत्ति तथा दायित्वको यथार्थ परीक्षण, वित्तीय अवस्था मूल्याङ्कन, शेयर आदान–प्रदानसम्बन्धी व्यवस्था तथा अन्य आवश्यक प्रक्रियाहरू पूरा गरिने बैंकले जनाएको छ।
यद्यपि प्रारम्भिक सम्झौता हुँदैमा प्राप्ति प्रक्रिया अन्तिम रूपमा टुंगिएको भने होइन। नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति तथा प्रचलित कानुन र नियामकीय व्यवस्था पूरा गरेपछि मात्रै प्राप्ति प्रक्रिया अन्तिम रूपमा कार्यान्वयनमा जानेछ।
मुक्तिनाथ विकास बैंकका अनुसार प्रस्तावित प्राप्तिपछि संस्थागत क्षमता अभिवृद्धि हुनुका साथै व्यवसाय विस्तार र ग्राहकलाई थप प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तीनवटै संस्थाले प्राप्ति प्रक्रियालाई पारदर्शी, व्यवस्थित र प्रचलित कानुन तथा नियामकीय व्यवस्थाअनुसार अघि बढाउने प्रतिबद्धता जनाएका छन्। साथै, प्रक्रियाका क्रममा सम्बन्धित शेयरधनी, ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालाको हितलाई प्राथमिकतामा राख्ने जनाइएको छ।













प्रतिक्रिया