२८ आश्विन २०८३, बुधबार

त्यो घर, भ्रम र भूगोल  

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–सञ्जय खड्का

बलियो चट्टनी–गहिरो जग, खुल्ला तल्लो तला,
पानी निकासको बाटो, ठूला वस्तु सिधै नठोक्किनु,
न्यून सतह र अनुकूल भूआकृति–
सायद यिनै थिए भौतिक अस्तित्वका आधार ।

गर्जदैँ महाबाढी आयो, अनेकौँ सपना र बस्ती बगायो,
तर त्यो घर भेलको तीक्ष्ण प्रहारबीच उभिइरह्यो,
त्यसपछि सुरु भयो अड्कलबाजी शृङ्खला र चर्चा–
“यसमा त पक्कै कुनै अलौकिक रहस्य छ !”

कसैले देवताको कृपा भने, कसैले चमत्कार ठाने,
कसैले मूर्ति र शक्तिको कथा बुने, धारणा भुटे,
विडम्बना– ‘कुन देवताको शक्ति ठूलो ?’ भन्नेमा
सम्प्रदायभित्रै अस्वस्थ होडबाजी सुनिए ।

कृपया पख्नुहोस्– चमत्कार भन्न हतार नगरौँ,
पहिले बाढी, भूगोल र संरचनाको विज्ञान बुझौँ ।
घर बोल्दैन, तर त्यसको
संरचना– इन्जिनियरिङ बोल्छ ।

यो चमत्कार होइन,
प्रकृतिसँगको संरचनात्मक प्राविधिक संघर्ष हो,
यो अन्धविश्वास होइन,
प्राविधिक र वस्तुस्थितिको प्रत्यक्ष प्रमाण हो ।

आस्थाको अधिकार छ तर भ्रमको छुट छैन,
बाढीले बस्ती त बगायो–बगायो,
तर कम्तिमा हाम्रो चेतना,
विवेक र मानवीयता नबगाओस् ।

घर किन बच्यो– त्यो यर्थाथ खोजौँ,
ताकि भोलि अरु घर र जीवन बचाउन सकौँ,
विपत्तिलाई शोक होइन, शक्ति र पाठ बनाऔँ,
गल्तीबाट सिक्दै सुरक्षित भविष्य कोरौँ ।