काठमाडौं । प्राकृतिक विपद्बाट उत्पन्न संकटको सामना गर्न राजनीतिक दलहरूबीच एकता र सहकार्य आवश्यक रहेको निष्कर्ष सर्वदलीय बैठकले निकालेको छ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहलमा बसेको बैठकमा विपद् व्यवस्थापन, उद्धार तथा राहतसँगै अन्तर्राष्ट्रियस्तरमा नेपालको क्षतिपूर्तिको दाबी अघि बढाउने विषयमा समेत छलफल भएको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नेपालले भोगिरहेको विपद्मा नेपालको मात्र जिम्मेवारी नरहेको तर्क गरे। विकसित मुलुकहरूले गरेको अत्यधिक कार्बन उत्सर्जनका कारण जलवायु परिवर्तनको असर नेपालजस्ता मुलुकले भोग्नुपरेको भन्दै उनले अन्तर्राष्ट्रिय समुदायसमक्ष क्षतिपूर्तिको माग गर्नुपर्ने बताए।
शाहीका अनुसार नेपालले आफ्नो क्षतिपूर्तिको दाबी अन्तर्राष्ट्रिय मञ्चमा औपचारिक रूपमा उठाउन आवश्यक छ। त्यसका लागि संसद्बाट आवश्यक निर्णय गराएर संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय निकायमा नेपालको धारणा स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ।
‘नेपालले आफ्नो कारणले यो विपत्ति भोगेको होइन। कार्बन उत्सर्जनमा ठूलो योगदान गर्ने राष्ट्रका कारण सिर्जित जलवायुजन्य संकटको भार हामीले खेपिरहेका छौँ। त्यसैले अन्तर्राष्ट्रिय समुदायसमक्ष क्षतिपूर्तिको दाबी गर्नुपर्छ,’ उनले भने।
बैठकमा विपद्का कारण विभिन्न स्थानमा फसेका नागरिकको उद्धार, राहत सामग्रीको प्रभावकारी वितरण तथा प्रभावित क्षेत्रमा राज्यका संयन्त्रलाई थप सक्रिय बनाउने विषयमा पनि छलफल भएको शाहीले जानकारी दिए।
विपद्का बेला राजनीतिक मतभेदलाई प्राथमिकता दिनुभन्दा नागरिकको ज्यान जोगाउने र प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने विषयमा सबै दल एक ठाउँमा उभिनुपर्नेमा बैठकमा जोड दिइएको थियो।
शाहीले विपद् व्यवस्थापनमा संघीय सरकारको भूमिका थप प्रभावकारी हुनुपर्ने बताए। संघ, प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वय कायम गरेर उद्धार तथा राहतका कामलाई तीव्रता दिनुपर्ने विषयमा पनि बैठकमा छलफल भएको उनले जानकारी दिए।
उनका अनुसार विपद्को सामना गर्न सरकारलाई सबै राजनीतिक दलले आवश्यक सहयोग र साथ दिनुपर्ने तथा संकटको समयमा राज्यका सबै संयन्त्र एकीकृत रूपमा परिचालन गर्नुपर्नेमा सर्वदलीय बैठकमा साझा धारणा बनेको छ।













प्रतिक्रिया