२८ आश्विन २०८३, बुधबार

बहराइनलाई सात विकेटले पराजित गर्दै नेपालको विजयी सुरूवात

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एसीसी पुरुष प्रिमियर कप २०२६ मा नेपालले शानदार जितसहित प्रतियोगिताको सुरुवात गरेको छ । समूह ‘ए’को पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी यात्रा थालेको हो ।

बहराइनले दिएको ८८ रनको लक्ष्य नेपालले २१ ओभरमै तीन विकेट गुमाएर पूरा गर्‍यो । सामान्य लक्ष्य पछ्याएको नेपालले सुरुदेखि नै संयमित ब्याटिङ गर्दै खेललाई सहज रूपमा आफ्नो पक्षमा पारेको थियो ।

नेपालको जितमा अर्जुन कुमालले महत्वपूर्ण भूमिका खेले । ओपनिङमा आएका अर्जुन ३६ रनमा नटआउट रहे । त्यस्तै रोहित पौडेलले आक्रामक ब्याटिङ गर्दै १४ बलमा १९ रनको योगदान दिए । आसिफ शेखले पनि १९ रन जोड्दै टोलीको जित सहज बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइन नेपाली बलरको दबाबमा सुरुदेखि नै कमजोर देखिएको थियो । उसका लागि फियाज अहमदले १५ रन बनाउँदा मुहम्मद वासिमले १३ तथा अलि दाउदले १० रन जोडे । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । परिणामस्वरूप बहराइन ३६.२ ओभरमै ८७ रनमा समेटियो ।

बहराइनको ब्याटिङ ध्वस्त पार्ने क्रममा कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले १० ओभरमा चार मेडन राख्दै १४ रन खर्चिएर पाँच विकेट लिए । ललित राजबंशीले तीन विकेट हात पार्दा करण केसीले दुई विकेट लिए । नेपाली बलरको प्रभावशाली प्रदर्शनकै कारण बहराइन ठूलो योगफलतर्फ जान सकेन ।

सन्दीपका लागि कप्तानीमा पुनरागमनपछिको यो पहिलो आधिकारिक खेल पनि हो । नेपाल क्रिकेट संघ ९क्यान०ले गत महिना रोहितकुमार पौडेललाई कप्तानीबाट हटाएर सन्दीपलाई पुनः टोलीको नेतृत्व सुम्पिएको थियो । कप्तानका रूपमा पहिलो खेलमै पाँच विकेट लिएर सन्दीपले प्रभावशाली सुरुवात गरेका छन् ।

मलेसियाको वाईएसडी युकेएम क्रिकेट मैदान, बङ्गीमा भएको खेलमा नेपालले बलिङ र ब्याटिङ दुवैमा बहराइनमाथि स्पष्ट दबाब कायम राख्दै ७ विकेटको जित निकाल्यो । यससँगै नेपालले प्रिमियर कपको समूह ‘ए’मा पहिलो खेलबाटै महत्वपूर्ण दुई अंक जोडेको छ।