३० आश्विन २०८३, शुक्रबार

सन्दीपको घातक बलिङमा बहराइन ८७ रनमै अलआउट

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा नेपालले एसीसी प्रिमियर कपअन्तर्गत बहराइनलाई ८७ रनमै अलआउट गरेको छ । बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य पछ्याउँदै नेपाल अब जितका लागि मैदानमा उत्रिएको हो ।

मलेसियाको यूकेएम यूएसडी ओभलमा टस जितेर नेपालले बहराइनलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । नेपाली बलरले सुरुदेखि नै दबाब कायम राखेपछि बहराइनको ब्याटिङ लाइनअप लामो समय टिक्न सकेन । बहराइन ३६।२ ओभरमा ८७ रनमा सीमित भयो ।

बहराइनका लागि फैज अहमदले सर्वाधिक १५ रन बनाए । मोहम्मद वासिमले १३ तथा अली दाउदले १० रन जोडे । यी तीनबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

बहराइनको इनिङ ध्वस्त पार्ने क्रममा सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए । उनले १० ओभरको स्पेलमा चार मेडन राख्दै केवल १४ रन खर्चिए । कप्तान सन्दीपको स्पिनसामु बहराइनका ब्याटरहरू खुलेर खेल्न सकेनन् ।

सन्दीपलाई बलिङमा ललितनारायण राजवंशी र करण केसीले राम्रो साथ दिए । राजवंशीले तीन तथा करणले दुई विकेट आफ्नो नाममा लेखाए । नेपाली बलरको संयुक्त प्रदर्शनका कारण बहराइन ठूलो स्कोर बनाउनबाट रोकियो ।

नेपाल क्रिकेट संघ ९क्यान०ले गत महिना रोहितकुमार पौडेललाई कप्तानीबाट हटाउँदै सन्दीप लामिछानेलाई पुनः राष्ट्रिय टोलीको नेतृत्व सुम्पिएको थियो । त्यसपछि कप्तानका रूपमा सन्दीपको यो पहिलो आधिकारिक खेल हो । पुनरागमनको पहिलो खेलमै उनले बलबाट प्रभावशाली प्रदर्शन गर्दै पाँच विकेट लिएर आफ्नो नेतृत्वको सुरुआत शानदार बनाएका छन् ।

अब नेपालले ८८ रनको लक्ष्य पूरा गर्नुपर्नेछ । बहराइनलाई सानो स्कोरमा रोकिसकेको नेपाल जिततर्फ बलियो अवस्थामा देखिएको छ।