काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले पछिल्लो बाढी–पहिरोपछि उद्धार तथा राहतमा संघ, प्रदेश र स्थानीय सरकारबीच अपेक्षाअनुसार समन्वय हुन नसकेको बताएका छन्।
आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा भएको भेटमा मुख्यमन्त्री थापाले विपद्का बेला तीनै तहका सरकारको जिम्मेवारी स्पष्ट हुनुपर्नेमा जोड दिएका हुन्।
प्रदेश सरकारले आफ्नो तर्फबाट काम गरिरहेको भए पनि संघ, प्रदेश र स्थानीय तहबीच समन्वयको अभाव देखिएको उनको भनाइ थियो। प्रधानमन्त्री प्रभावित क्षेत्रको भ्रमणमा पुग्दा समेत प्रदेश सरकारलाई पूर्वजानकारी नदिइएको भन्दै उनले असन्तुष्टिसमेत व्यक्त गरे।
मुख्यमन्त्री थापाले प्रभावित क्षेत्रमा पठाइएका राहत सामग्रीसमेत सहज रूपमा पुर्याउन नसकिएको जानकारी लामिछानेलाई गराएका थिए। उनका अनुसार बट्टारसम्म राहत सामग्री पुगे पनि त्यसभन्दा माथिका प्रभावित क्षेत्रमा लैजान कठिनाइ भइरहेको छ।
जलवायु परिवर्तनका कारण आगामी दिनमा विपद्को जोखिम थप बढ्न सक्ने भन्दै थापाले नदी तथा खोलाका किनारमा रहेका जोखिमयुक्त बस्तीको दीर्घकालीन व्यवस्थापनका लागि तीनै तहका सरकारले संयुक्त रूपमा योजना बनाउनुपर्ने बताए।
भेटमा रास्वपा सभापति लामिछानेले विपद्को समयमा प्रदेश सरकारले स्थानीय र संघीय सरकारबीच प्रभावकारी समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे। उनले प्रभावित नागरिकलाई राहत तथा उद्धारमा आवश्यक सहयोगका लागि संघीय सरकारसँग समन्वय गर्ने प्रतिबद्धता जनाए।
दुवै नेताबीच विपद् प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार र पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।















प्रतिक्रिया