काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बाढीपहिरो लगायत विपद्मा ज्यान गुमाएका र पहिचान खुल्न बाँकी रहेका शवहरू हतारमा व्यवस्थापन नगर्न सरकारलाई आग्रह गरेका छन् ।
भोटेकोशी लगायतका क्षेत्रमा आएको विपद्मा मृत्यु भएकाहरूको पहिचान नजानी दाहसंस्कार वा गाड्ने कार्य भइरहेको भन्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टराईले पीडित परिवारसँग पर्याप्त परामर्श र वैज्ञानिक पहिचानबिना शव व्यवस्थापन गरिनु न्यायोचित नभएको बताए ।
शव गृह (मर्चरी)को अभाव भए शीत गृह वा युद्धस्तरमा अल्पकालीन मर्चरीको व्यवस्था गरेर भए पनि पहिचान प्रक्रियालाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ ।
खोजी तथा उद्धार जारी रहँदा आफन्तजन आफ्ना मान्छेको पर्खाइमा रहेको उल्लेख गर्दै उनले सरकारलाई संवेदनशील र पारदर्शी बन्न आग्रह गरे ।
डीएनए परीक्षण र वैज्ञानिक विधि पूरा नगरी शव व्यवस्थापन गर्दा पीडित परिवारले आफ्ना सदस्यको अन्तिम संस्कार गर्न पाउने अधिकार समेत खोसिने भन्दै सर्वसाधारण र नागरिक समाजले पनि सरकारको कदमप्रति आक्रोश व्यक्त गर्दै आएका छन् ।











प्रतिक्रिया