काठमाडौं । विपद्का कारण सम्पर्कविहीन भएका आफ्ना कर्मचारीको उद्धारमा ढिलाइ भएको विषयमा चौतर्फी प्रश्न उठेपछि नेपाल विद्युत् प्राधिकरणले प्रष्टीकरण दिएको छ ।
प्राधिकरणले कर्मचारीको सुरक्षित उद्धारलाई नै पहिलो र सर्वोच्च प्राथमिकतामा राखेर निरन्तर प्रयास भइरहेको स्पष्ट पारेको हो ।
विपद्को कठिन परिस्थितिमा सहकर्मी तथा प्रियजन सम्पर्कविहीन हुँदा परिवार र साथीहरूमा उत्पन्न हुने चिन्ता, बेचैनी र आक्रोशलाई आफूहरूले गहिरोसँग महसुस गरेको प्राधिकरणले जनाएको छ । सम्पर्कविहीन प्रत्येक कर्मचारी आफ्नै परिवारको सदस्य भएकाले उनीहरूको अवस्थाप्रति संस्था उत्तिकै चिन्तित रहेको विज्ञप्तिमा उल्लेख छ ।
उद्धारमा ढिलाइ गर्ने, पन्छिने वा बेवास्ता गर्ने कुनै मनसाय नरहेको प्रष्ट पार्दै प्राधिकरणले भनेको छ, “विपद् आएको क्षणदेखि नै हाम्रा टोलीहरू दिनरात नभनी उद्धार, राहत तथा विद्युत् सेवा पुनःस्थापनामा खटिरहेका छन् ।”
अत्यन्त कठिन भौगोलिक र मौसमी प्रतिकूलताका बाबजुद प्राधिकरणका कर्मचारीहरू आफ्नै ज्यान जोखिममा राखेर घटनास्थलमा खटिएको जनाइएको छ । सरकार तथा सुरक्षा निकायहरूसँग निरन्तर समन्वय गरी उपलब्ध साधन, स्रोत र जनशक्ति परिचालन गरेर खोजी कार्यलाई तीव्रता दिइएको प्राधिकरणले बताएको छ ।
आफ्ना साथीहरू सम्पर्कमा नहुँदा चिन्ता र आक्रोश हुनु स्वाभाविक भए पनि अहिलेको घडीमा एकअर्कालाई आरोपप्रत्यारोप गर्नुभन्दा एकता, सहकार्य र धैर्यताको आवश्यकता रहेको प्राधिकरणको भनाइ छ ।
‘हामी रोकिएका छैनौँ, थाकेका छैनौँ र पछि हटेका पनि छैनौँ’ भन्दै प्राधिकरणले सम्पर्कविहीन कर्मचारीहरूसहित विपद्मा परेका सम्पूर्ण नागरिकको सुरक्षित उद्धार नभएसम्म प्रयास जारी राख्ने प्रतिबद्धता जनाएको छ ।











प्रतिक्रिया