२८ आश्विन २०८३, बुधबार

मानवीय सहायता सामग्रीसहित तेस्रो विमान पठाउने तयारीमा भारत

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतले बाढी प्रभावित नेपालका लागि मानवीय सहायता सामग्री बोकेका अर्को विमान पठाउने तयारी गरेको छ । यसअघि दुईवटा विमान पठाएको र आज साँझ तेस्रो विमान पठाउने तयारी भइरहेको भारतीय विदेश मन्त्रालय (एमईए)का प्रवक्ता रणधीर जयसवालले शुक्रबार बताएका छन् ।

विनाशकारी आकस्मिक बाढीपछि नयाँदिल्लीले राहत तथा उद्धार सहयोग थप तीव्र बनाइरहेको छ ।

एएनआईको प्रश्नको जवाफ दिँदै जायसवालले तेस्रो विमानमा करिब १२–१३ टन मानवीय सहायता सामग्री पठाइने र योजना अनुसार उक्त विमान उडेको खण्डमा नेपालमा भारतले पठाएको कुल राहत सामग्री करिब ६० टन पुग्ने बताए ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जायसवालले भने, ‘विपत्ति सुरु भएलगत्तै हामीले सोही दिन मानवीय सहायता परिचालन गर्‍यौँ । पहिलो विमान अगस्ट २६ को साँझ नेपालका लागि उडेको थियो। त्यसमा १० टन राहत सामग्री थियो, जसमा अस्थायी आश्रयस्थलका सामग्री, कम्बल, सरसफाइ सामग्रीका किट, सौर्य बत्ती र औषधि थिए ।’

उनका अनुसार दोस्रो विमान अगस्ट २७ बिहान करिब १०ः३० बजे उडेको थियो । उक्त विमानमा ३७.५ टन राहत सामग्री पठाइएको थियो ।

एमईएका प्रवक्ताका अनुसार उक्त सामग्रीमा टेन्ट, कम्बल, सरसफाइ किट, सौर्य बत्ती, पानी निकाल्ने पम्प, भान्साका सामग्री, जेनेरेटर, औषधि तथा खाद्य सामग्री रहेका थिए ।

जायसवालले भारतले आज साँझ तेस्रो विमान पठाउने विषयमा छलफल भइरहेको बताए । उक्त विमानमा पोर्टेबल जेनेरेटर, ‘डिग्निटी किट’, खाद्य सामग्री, पानी शुद्धीकरण गर्ने ट्याब्लेट र औषधि पठाउने तयारी छ । यी सामग्री नेपाल पक्षले उपलब्ध गराउन अनुरोध गरेका वा आवश्यक ठानेका सामग्रीमध्येका रहेको उनले बताए ।

‘विशेष विमानको कुल भार करिब १२–१३ टन हुनेछ । समग्रमा, यो विमान पनि उडेको खण्डमा मानवीय सहायताअन्तर्गत भारतले नेपालमा करिब ६० टन राहत सामग्री हुनेछ,’ जायसवालले भने ।

मानवीय सहायता सामग्रीबाहेक भारतले नेपालको उद्धार अभियानका लागि थप विशेष सहयोगको तयारीसमेत गरिरहेको छ ।

‘नेपालको अनुरोधअनुसार हामी सुरुङ उद्धार टोली पठाउने तयारीमा छौँ । त्यसका लागि आवश्यक उपकरण कस्तो हुने भन्नेबारे स्थलमै पुगेर मूल्यांकन गर्न पहिले एउटा निरीक्षण टोली पठाइँदैछ । हामी नेपालमा स्वास्थ्यकर्मीको टोली पनि पठाउँदैछौँ,’ जायसवालले भने ।

बाढी प्रभावित क्षेत्रमा आवागमन तथा सम्पर्क पुनःस्थापित गर्न भारतले बेल्ली ब्रिज र त्यससँग सम्बन्धित प्राविधिक टोली पठाउने प्रस्तावसमेत गरेको छ ।

एमईएका प्रवक्ताले भारतले नेपालमा जारी खोज तथा उद्धार अभियानमा सहयोग गर्न राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ)का टोली तथा आवश्यक उपकरण पठाउने प्रस्तावसमेत गरेको बताए । यसले विपद्बाट प्रभावित मानिसहरूलाई राहत उपलब्ध गराउन पनि सहयोग गर्नेछ ।

विपद्बाट प्रभावित भारतीय नागरिकबारे बोल्दै जायसवालले उद्धार गरिएका भारतीय नागरिकलाई स्वदेश फर्काउन भारत सरकारले व्यवस्था गरिरहेको बताए ।

उनले हालसम्म २१ जना भारतीय नागरिक दिल्ली फर्किसकेको र उनीहरूको यात्रा व्यवस्थापन भारतीय दूतावासले गरेको जानकारी दिए ।

नेपाली अधिकारीहरूले उपलब्ध गराएको पछिल्लो विपद् व्यवस्थापनसम्बन्धी विवरणअनुसार हालसम्म ५३८ जनाको शव फेला परेको छ भने ९७७ जना अझै बेपत्ता छन् । प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका कार्यहरू जारी छन् । एएनआई