काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण एनआईसी एशिया बैंकको तीन शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएको छ । साथै, प्रभावित क्षेत्रमा कार्यरत सबै कर्मचारीहरू हाल सुरक्षित स्थानमा रहेका छन् ।
आवश्यक परेमा कर्मचारीहरु र परिवारका सदस्यहरुसहितलाई हेलिकप्टरमार्फत स्थानान्तरणको तयारी अवस्थामा बैंक रहेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) जयन्द्रबहादुर रावलले जानकारी दिए ।
बाढीका कारण बैंकको रसुवास्थित स्याफ्रुबेशी शाखा र नुवाकोटस्थित बेत्रावती शाखा कार्यालय रहेको भवन बाढीले बगाएको छ भने त्रिशूली शाखा कार्यालय पूर्णरुपमा क्षतिग्रस्त भई माटोले पुरिएको अवस्थामा रहेको छ । उक्त शाखा कार्यालयहरु पूर्णरुपमा क्षति भएकाले अर्को व्यवस्था नभएसम्मको लागि सेवा बन्द रहने बैंकले जनाएको छ ।
‘आकस्मिक रुपमा आएको अकल्पनीय बाढीका कारण उक्त क्षेत्रमा भएको भौतिक एवं मानवीय क्षतिप्रति यस बैंक परिवार दुःख व्यक्त गर्दछ । साथै, उक्त बाढीमा परी ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै यस दुःखद घडीमा परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने प्रार्थना गर्दछौँ । हालसम्म सम्पर्कमा नआउनु भएका नागरिकहरुको सकुशल रुपमा छिटो उद्धार र उक्त घटनामा परी घाइते हुनुभएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।











प्रतिक्रिया