काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा भएको जनधनको क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले दुःख व्यक्त गर्दै राहतका लागि १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
नाडाका अध्यक्ष सुरेन्द्र उप्रेतीका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिनेछ। विपद्को समयमा उद्धार, राहत र पुनर्स्थापनाका लागि राज्यसँग सहकार्य गर्न अटोमोबाइल व्यवसायीलाई समेत नाडाले आह्वान गरेको हो।
नाडाले विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, उद्धार तथा राहतमा खटिएका सुरक्षा निकाय, स्थानीय प्रशासन र सरकारी संयन्त्रप्रति आभार व्यक्त गरेको छ।
सरकार, निजी क्षेत्र र नागरिक समाजको संयुक्त प्रयासबाट विपद्को सामना गर्न सकिने भन्दै नाडाले अटोमोबाइल व्यवसायीलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ।
यसैबीच, बाढीका कारण राष्ट्रियस्तरमा चुनौतीपूर्ण अवस्था सिर्जना भए पनि भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ भने निरन्तर सञ्चालन हुने नाडाले जनाएको छ। आर्थिक गतिविधिलाई चलायमान राख्दै विपद् व्यवस्थापनमा समेत सहयोग गर्नुपर्ने भएकाले प्रदर्शनीलाई निरन्तरता दिने निर्णय गरिएको नाडाको भनाइ छ।











प्रतिक्रिया