-सञ्जय खड्का
पहिलो बिन्ती—
गरिमाका बुबाको त्यो शोकाकुल मनमा,
कृपया शब्दका काँडा नरोपौँ ।
जसले सन्तान गुमाउँदाको पीडा बोकेको छ,
उसको घाउमा आरोपका नुन नछरौँ ।
दोस्रो बिन्ती—
हर्कको तर्कमा पनि जायज प्रश्न छ,
खुश्बुको तर्कमा पनि पीडा र सत्यको अंश छ ।
पक्ष र विपक्षको चस्मा फुकालेर हेरौँ,
दलीय पूर्वाग्रहको चस्मा फुकालेर हेरौँ ।
समय बदलिएको छ,
अपराधका स्वरूप बदलिएका छन्,
अतः समयसँगै कानुन परिमार्जित गरौँ ।
तर कानुन कमजोर बनाउन होइन—
न्याय अझ बलियो बनाउन,
नारा होइन, न्यायको बाटो रोजौँ ।
तेस्रो बिन्ती—
आवेगमा विवेकको दियो निभ्न नदिऔँ,
क्रोधलाई संविधान नबनाऔँ,
बदलालाई न्यायको नाम नदिऔँ ।
अपराधप्रति कठोर बनौँ,
तर न्यायप्रति अझ कठोर बनौँ ।
मृत्युदण्ड नेपालमा राख्ने कि नराख्ने ?
राख्ने हो भने—
कुन–कस्ता अपराधमा ? कुन आधारमा ?
यिनै प्रश्नमाथि गम्भीर बहस गरौँ ।
किनकि हामीलाई—
बदला होइन, न्याय चाहिएको छ,
घृणा होइन, इन्साफ चाहिएको छ,
आवेग होइन, विवेक चाहिएको छ,
भीड होइन, कानुनी राज चाहिएको छ ।











प्रतिक्रिया