२८ आश्विन २०८३, बुधबार

सत्य–स्वरुपको ‘हजार सपना’ले सम्झायो भक्तराजको संगीत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्यराज आचार्य र स्वरूपराज आचार्यले काठमाडौंमा प्रस्तुत गरेको ‘हजार सपना विथ सत्य–स्वरुप’ सांगीतिक कार्यक्रमले नेपाली संगीतका कालजयी सिर्जना र भजनशिरोमणि भक्तराज आचार्यको सांगीतिक विरासतलाई पुनः स्मरण गराएको छ।

बुकहिल पब्लिकेशनको आयोजनामा भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबको द ब्लु प्याभेलियन हलमा भएको कार्यक्रममा सत्य–स्वरुपले करिब तीन घण्टा विभिन्न भजन तथा आधुनिक गीत प्रस्तुत गरे। कार्यक्रमका क्रममा उनीहरूले आफ्ना पिता भक्तराज आचार्यका चर्चित सिर्जनासँगै नेपाली संगीत क्षेत्रका अन्य स्रष्टाका गीतहरू पनि प्रस्तुत गरेका थिए।

बैठकी शैलीमा आयोजना गरिएको कार्यक्रममा प्रत्यक्ष वाद्यवादनसहित प्रस्तुति दिइएको थियो। तबलामा कुमार सिंह महाराज, बेस गितारमा अनुप दास, मादलमा सुनिल अर्याल, गितारमा सञ्जीव बराइली, ढोलकरअक्टोप्याडमा भूपेन्द्र रसाइली, किबोर्डमा राहुल भुजेल र बाँसुरीमा नगेन्द्र राईले साथ दिएका थिए।

कार्यक्रममा ‘हजार सपनाहरूको माया लागेर आउँछ’, ‘न धन त्यागेर त्यागी हुन्छ’, ‘तन र वचनले प्रभुको’, ‘एक दिन मैले प्रभुसँग सोधें’, ‘कति लिन्छौ परीक्षा मेरो भगवान’, ‘मुटु जलिरहेछ’, ‘बल गरेर त्यो मन’, ‘सायद मायामा फसेँ कि’ लगायतका गीत प्रस्तुत गरिएका थिए।

त्यसैगरी, ‘लोलाएका ती ठूला‘’ प्रस्तुत गर्दै संगीतकार दीपक जङ्गमलाई सम्मानपूर्वक सम्झना गरिएको थियो। सरोज कार्थकसँग जोडिएका बाल्यकालका स्मृतिसमेत सत्य–स्वरुपले दर्शकसँग साझा गरेका थिए। कार्यक्रममा भक्तराज आचार्यसँग सम्बन्धित व्यक्तिगत स्मृति र जीवनका प्रसङ्गले पनि विशेष भावनात्मक माहोल सिर्जना गरेको थियो।

बुकहिलका संस्थापक भूपेन्द्र खड्काका अनुसार नेपाली संगीतको प्रवर्द्धन गर्ने उद्देश्यले ‘बुकहिल ब्यालेड्स’ सुरु गरिएको हो। संगीतलाई नजिकबाट महसुस गर्ने वातावरण सिर्जना गर्नुका साथै नेपालमा हराउँदै गएको बैठकी शैलीलाई पुनर्जीवित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ।

सत्य–स्वरुपको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन मात्र दिएन, नेपाली संगीतको मौलिकता, कालजयी सिर्जना र पुस्तान्तरणको महत्वसमेत अनुभूति गरायो। भक्तराज आचार्यको सांगीतिक विरासतलाई सत्यराज र स्वरूपराजले निरन्तरता दिइरहेकाले भविष्यमा भक्तराजका सिर्जनालाई ‘आचार्य संगीत’का रूपमा स्थापित गर्न सकिने सम्भावनाबारे पनि कार्यक्रमले बहसको आधार तयार गरेको छ।