काठमाडौं । समुद्री सतहबाट करिब ४ हजार २०० मिटरको उचाइमा रहेको बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा नेपाल टेलिकमले फोरजीसहित टुजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।
टेलिकमका अनुसार भदौ ८ गतेदेखि बडीमालिका क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवा औपचारिक रूपमा सञ्चालनमा आएको हो । भौगोलिक रूपमा अत्यन्तै विकट र उच्च हिमाली क्षेत्रमा उपकरण तथा आवश्यक सामग्री पुर्याउन नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको थियो ।
उच्च हिमाली भूगोलमा टावर निर्माण तथा सेवा विस्तारका लागि प्राविधिक टोलीले चुनौतीपूर्ण परिस्थितिमा काम गरेको टेलिकमले जनाएको छ ।
सेवा सञ्चालनमा आएसँगै त्रिवेणी नगरपालिका–५ र ६, बडीमालिका नगरपालिका–५ र ६ तथा मार्तडीदेखि बडीमालिका जाने पदमार्गअन्तर्गत त्रिवेणी पाटनलगायत क्षेत्र दूरसञ्चार सेवाको पहुँचमा जोडिएका छन् ।
टेलिकमका अनुसार नयाँ सेवा विस्तारबाट स्थानीय बासिन्दासँगै बडीमालिका दर्शनका लागि पुग्ने भक्तजन, तीर्थयात्री तथा पदयात्रीलाई मोबाइल तथा इन्टरनेटमार्फत सञ्चार सम्पर्क गर्न सहज हुनेछ ।
टावर निर्माण तथा सेवा सञ्चालनका लागि टेलिकमका इन्जिनियर सुदर्शन आचार्य, प्राविधिक अधिकृत माधव बुढाथोकी र सिभिल इन्जिनियर दीपक भट्टलगायत प्राविधिक टोली खटिएको थियो ।
नेपाल टेलिकमका प्रवक्ता डा। कमल लामिछानेले उच्च हिमाली क्षेत्रमा दूरसञ्चार सेवा विस्तारसँगै त्यहाँका बासिन्दा तथा पर्यटकले प्रत्यक्ष लाभ लिन सक्ने बताए।











प्रतिक्रिया