काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको बृहत सम्मेलनको रुपमा परिचित ‘डिजिटल नेपाल कन्क्लेभ’को पाचौँ संस्करणको कार्यक्रम यही भदौ ११ गते बिहीबार ललितपुरस्थित द प्लाजामा आयोजना हुने भएको छ ।
आईसीटी फाउन्डेसन नेपालको आयोजनामा हुने कन्क्लेभको मूल विषय ‘रिइम्याजिनिङ गभर्नेन्स, डेटा एन्ड द डिजिटल इकोनोमी’ अर्थात् ‘शासन, डेटा र डिजिटल अर्थतन्त्रको पुनर्कल्पना’ रहेको आयोजकले जानकारी गराएको छ ।
डिजिटल नेपालको लागि डिजिटल रुपान्तरण र डिजिटल इकोसिस्टम विकासको मुख्य एजेन्डामा विगत ५ वर्षदेखि आयोजना हुँदै आएको कन्क्लेभ, प्रविधि क्षेत्रको बृहत सम्मेलन हो । सरकारले सन् २०१९ मा सार्वजनिक गरेको डिजिटल नेपाल फ्रेमवक्रको आधारमा नीतिगत बहस र डिजिटल रुपान्तरणको एजेन्डामा सन् २०२० देखि नै डिजिटल संवाद र कन्क्लेभहरु सुरु भएको थियो ।
सन् २०२६ को संस्करणको कन्क्लेभ’मा पछिल्लो समय नयाँ सरकारले सुशासनलाई दिएको प्राथमिकता र त्यसको लागि डेटामा आधारित गभर्नेन्स र इकोनोमीलाई बृहत रुपमा छलफलको विषय बनाएको छ ।
यस वर्षको कन्क्लेभमा ३ वढी कि–नोट प्रस्तुति, ५ वटा विषयगत प्यानल संवाद र एउटा पावर संवाद सेसन सन्चालन हुनेछ । केही विषयगत विज्ञको प्रस्तुतिसँगै १० बढी डिजिटल नेपालको लागि काम भइरहेका इन्नोभेसनको प्रस्तुति (डिजिटल स्पार्क) पनि रहेको छ । केही अन्तर्राष्ट्रिय विज्ञहरुको समेत सहभागिता रहने यस सम्मेलनमा सरकारको तर्फबाट उच्चस्तरीय प्रतिनिधि, प्रतिनिधि सभा सदस्य तथा मन्त्रीहरुको सहभागिता रहनेछ । कार्यक्रममा ५ सय बढीको प्रत्यक्ष सहभागिता रहने बताइएको छ ।
डिजिटल नेपाल बनाउने सरकारको महत्वाकांक्षी योजनामा निजी क्षेत्र, सरकार र अन्तराष्ट्रिय निकायलाई सहभागी गराएर सँगै छलफलको वातावरण बनाउँदै नीतिगत सुधार र कार्यन्वयनमा जोड दिनु कार्यक्रमको मुख्य उदेश्य रहेको फाउन्डेसनको अध्यक्ष राजन लम्सालले जानकारी दिए । डिजिटल इकोसिस्टमको लागि सरकारी र निजि क्षेत्रबाट भइरहेका प्रयास, प्रविधि तथा इन्नोभेसनलाइ पनि प्राथमिकताको साथ यो अभियानमा जोड्ने पहल रहेको लम्सालले बताए ।
नेपालमै नेपालीले विकास गरेका प्रविधिहरु ‘टिङटिङ’ र ‘थर्डफ्याक्टर एआई’ले यस वर्षको कन्क्लेभमा विशेष सहकार्य गरेका छन् । यी प्रविधिहरुसँगै अन्य २० बढी नेपाली प्रविधिहरु समेत कार्यक्रममा प्रदर्शनीको रुपमा रहनेछन् ।
कार्यक्रममा एआई प्रविधिहरुको प्रत्यक्ष अनुभव गर्नेगरी टिङटिङ ओम्नी लाइभ इन्टरेक्शन, टिङटिङ आउटबाउन्ड र टिङटिङ रेस्पोन्सिभ एजेन्टको प्रदर्शनी हुनेछ ।
यसैगरी, कार्यक्रममा अनलाइन ट्राभल टिकेट प्लाटफर्म ‘सस्तो टिकट’ र फिनटेक कम्पनी ‘फोन पे’ यस कार्यक्रमको पावर्डवाईको रुपमा रहेका छन् । कार्यक्रममा न्यास आइटी, क्यान महासंघ, एनसेल विजनेस, स्काई आइटी, कता हो, एती क्लाउड, डिस होम, नासा एक्स, रि–सेकुरिटी, कोड एक्स स्कुल, नेपाल टेलिकम, ग्लोवल स्पार्क लगायतको सहकार्य र सहयोग रहेको छ ।
यस वर्षको कन्क्लेभका छलफल मुख्यतः तीन रणनीतिक विषयमा केन्द्रीत हुनेछ । पहिलो सेसनमा गभर्नेन्स एन्ड डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरअन्तर्गत संस्थागत डिजिटल सुधार, नागरिककेन्द्रित स्मार्ट सेवा, एकीकृत डिजिटल आईडी, नीतिगत नवप्रवर्तन र डेटामा आधारित निर्णय प्रक्रियाबारे छलफल हुनेछ ।
आयोजकका अनुसार दोस्रो सेसनमा डेटा, एआई एन्ड साइबर सिक्युरिटीअन्तर्गत राष्ट्रिय डेटा सार्वभौमिकता, एआईको नैतिक प्रयोग, साइबर सुरक्षा, डिजिटल ट्रस्ट तथा विभिन्न क्षेत्रबीच डेटा इन्टरअपरेबिलिटीका विषय उठाइनेछन् ।
तेस्रो सेसनमा डिजिटल इकोनोमी एन्ड इनोभेसनअन्तर्गत डिजिटल रुपान्तरण र यसको लागि लगानीका सम्भावना तथा भविष्यका लागि आवश्यक डिजिटल जनशक्तिबारे बहस हुनेछ ।
यसैगरी, अन्तिम सेसन डिजिटल नेतृत्व र रुपान्तरणको लागि राजनीतिक प्रतिबद्धता विषयमा केन्द्रित रहनेछ ।
डिजिटल नेपाल कन्क्लेभ २०२६ ले सरकार, नीति निर्माता, प्रविधि उद्योग, स्टार्टअप, लगानीकर्ता, प्राज्ञिक क्षेत्र, विकास साझेदार तथा युवा नवप्रवर्तकलाई एउटै मञ्चमा ल्याउँदै नेपालको डिजिटल भविष्यका लागि नीतिगत संवाद, ज्ञान आदानप्रदान, लगानीका सम्भावना र रणनीतिक सहकार्यलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ । कार्यक्रममा सहभागी हुने आधिकारिक वेबसाइट डब्लूडब्लूडब्लूडटडिजिटलकन्क्लेभडटओरजीमार्फत टिकट खरिद गर्न सकिने आयोजकले जनाएको छ ।











प्रतिक्रिया