काठमाडौं । भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने १८औँ नाडा अटो शोमा विभिन्न ब्रान्डले नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक गर्ने तयारी गरेका छन्। यसपटकको प्रदर्शनीमा नेपाली उत्पादनदेखि नयाँ विद्युतीय तथा पेट्रोलियम दुईपाङ्ग्रे सवारीसाधन सम्मलाई विशेष प्राथमिकता दिइएको छ।
नाडा अटो शोमा ११ कम्पनीअन्तर्गत १३ वटा दुईपाङ्ग्रे ब्रान्ड सहभागी हुँदैछन्। प्रदर्शनीमा डेढ दर्जनभन्दा बढी नयाँ मोडल अवलोकन गर्न सकिने आयोजक तथा सहभागी कम्पनीहरूले जनाएका छन्।
यसपटकको मुख्य आकर्षणमध्ये नेपाली श्रम, सीप, पुँजी र इन्जिनियरिङमा तयार भएको यात्री पी–टु विद्युतीय स्कुटर रहनेछ। सिप्रदी यात्री प्रालिले नेपालमै उत्पादन गरेको यो स्कुटर नाडा अटो शोको ‘मेड इन नेपाल’ प्याभिलियनमा सार्वजनिक गर्दै बिक्रीसमेत सुरु गर्ने तयारी गरेको छ।
त्यस्तै, एमएडब्लू राइज प्रा.लि अन्तर्गतको यामाहा नेपालले चार नयाँ मोडल सार्वजनिक गर्ने भएको छ। कम्पनीले यामाहा एक्सएसआरसहित नयाँ उत्पादन अटो शोमा ल्याउने तयारी गरेको छ। नयाँ मोडलको मूल्य तथा अन्य विवरण प्रदर्शनीको पहिलो दिन सार्वजनिक गरिने कम्पनीले जनाएको हो।
सीजी मोटर्सले हिरो ब्रान्डअन्तर्गत तीन नयाँ मोडल प्रदर्शनीमा राख्ने भएको छ। कम्पनीले १६० सीसीको जुम स्कुटर, १२५ सीसीको ग्ल्यामर एक्स मोटरसाइकल र २५० सीसीको एक्सट्रिम मोटरसाइकल अटो शोबाटै बिक्री सुरु गर्ने जनाएको हो।
सीजी मोटर्सकै विद्युतीय ब्रान्ड भिडाले पनि भीएक्स जेड स्कुटर र केथ्री डट मिनी मोटरसाइकल प्रदर्शनीमा राख्ने तयारी गरेको छ।
त्यस्तै, मिचे अटो नेपाल प्रा.लिले पाँच नयाँ मोडल सार्वजनिक गर्ने भएको छ। कम्पनीले पाँचवटै विद्युतीय स्कुटर अटो शोमा प्रदर्शन गर्नेछ। मिचे अटोले नेपालमै विद्युतीय दुईपाङ्ग्रे सवारीसाधनको एसेम्बलिङ गर्दै आएको छ।
रोयल इनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले पनि नयाँ मोडल प्रदर्शनीमा राख्ने भएको छ। कम्पनीले अटो शो सुरु हुनुभन्दा केही दिनअघि बजारमा सार्वजनिक गरेको नयाँ क्लासिक मोडललाई प्रदर्शनीमा मुख्य आकर्षणका रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ।
यस वर्षको नाडा अटो शोमा क्यूजे मोटर्स, जोनसेन, भेस्पा, अप्रिलिया, रोयल इनफिल्ड, एम्पियर, रिभोल्ट र मेटा ईभी लगायतका दुईपाङ्ग्रे ब्रान्डको समेत सहभागिता रहनेछ।
एकैपटक ठूलो संख्यामा नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक हुनुले नेपाली दुईपाङ्ग्रे बजारमा नयाँ उत्पादन र प्रविधिप्रतिको बढ्दो चासो देखाएको व्यवसायीहरूको भनाइ छ। विशेषगरी विद्युतीय सवारीसाधन र नेपालमै एसेम्बल तथा उत्पादन हुने दुईपाङ्ग्रे सवारीको विस्तारले बजारमा नयाँ सम्भावना सिर्जना गरेको छ।
नाडा अटो शोमा विभिन्न ब्रान्डका नयाँ मोडल एउटै स्थानमा उपलब्ध हुने भएकाले उपभोक्ताले डिजाइन, प्रविधि, मूल्य, क्षमता र सुविधाका आधारमा आफूलाई उपयुक्त सवारीसाधनबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्।
यसकारण १८औँ नाडा अटो शो नयाँ मोटरसाइकल र स्कुटर सार्वजनिक गर्ने थलो मात्र नभई नेपाली दुईपाङ्ग्रे सवारी बजारमा भित्रिँदै गरेका नयाँ प्रविधि, विद्युतीय सवारी र स्थानीय उत्पादनको विकास देखाउने महत्वपूर्ण मञ्चका रूपमा रहने अपेक्षा गरिएको छ।














प्रतिक्रिया