काठमाडौं । जमलस्थित टप दरबार रोधी क्लबमा तीन दिनदेखि गुञ्जिरहेको लोकदोहोरीको माहोल आज समापन हुँदैछ ।
क्लबको ग्रान्ड ओपनिङको अवसरमा आयोजित ‘लोकदोहोरी मेला २०८३’को अन्तिम दिन आज प्रकाश सपुत, रामजी खाँण, शान्ति रानी परियार, नारायण रायमाझी लगायत करिब एक दर्जन चर्चित कलाकारले प्रस्तुति दिनेछन् ।
भदौ ५ गते भव्य उद्घाटनसँगै सुरु भएको मेलाले पहिलो दिनदेखि नै दर्शकको उल्लेख्य साथ पाएको थियो ।
चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता दिनेश डीसीले मेलाको औपचारिक उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा सहभागी अतिथि कलाकार तथा विशिष्ट व्यक्तित्वलाई बाजागाजासहित स्वागत गरिएको थियो ।

दुर्गेश थापा, बद्री पंगेनी लगायत कलाकार तथा अतिथिको उपस्थितिले उद्घाटन समारोहलाई थप विशेष बनाएको थियो । त्यसपछि सुरु भएको सांगीतिक कार्यक्रममा ज्योति मगर, प्रीति आले, विश्व दोङ, बद्री पंगेनी लगायत दर्जनौँ कलाकारले प्रस्तुति दिएका थिए ।
लोकदोहोरीका चर्चित कलाकारको प्रस्तुति हेर्न दर्शकको बाक्लो उपस्थिति रह्यो ।
विश्वज्योति मलको चौथो तलास्थित टप दरबार रोधीको हल दर्शकले खचाखच भरिएपछि कतिपय दर्शकलाई कार्यक्रमस्थलबाट फर्काउनुपर्ने अवस्था समेत आएको थियो । कलाकारका प्रस्तुतिमा दर्शकले गीत गाउँदै, नाच्दै र ताली बजाउँदै साथ दिएका थिए ।
तीन दिनसम्म सञ्चालन भएको मेलामा लोकदोहोरी क्षेत्रका स्थापित कलाकारसँगै नयाँ पुस्ताका कलाकारले समेत प्रस्तुति दिएका छन् । टप दरबार रोधीमा नियमित रूपमा आबद्ध कलाकारको सहभागिताले पनि कार्यक्रमलाई निरन्तर सांगीतिक माहोलमा राखेको थियो ।
मेलाको अन्तिम दिन आज पनि चर्चित कलाकारको प्रस्तुति रहनेछ । प्रकाश सपुत, रामजी खाँण, शान्ति रानी परियार, नारायण रायमाझी लगायत कलाकारले प्रस्तुति दिने भएपछि समापन साँझमा पनि दर्शकको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ ।
टप दरबार रोधी क्लबले नेपाली मौलिक लोकसंगीत, कला, संस्कृति तथा रोधी परम्परालाई प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरेको जनाएको छ । स्थापित कलाकारसँगै नयाँ प्रतिभालाई मञ्च उपलब्ध गराउने र कलाकार तथा दर्शकलाई एउटै थलोमा जोड्ने उद्देश्यसमेत मेलासँग जोडिएको छ ।
क्लबका सञ्चालक अशोक गिरी करिब २५ वर्षदेखि दोहोरी तथा रोधी क्षेत्रमा सक्रिय छन् । उनले यसअघि सञ्चालन गरेका विभिन्न दोहोरी साँझ तथा रोधीमार्फत धेरै कलाकारलाई आफ्नो सांगीतिक यात्रा अघि बढाउने अवसर दिएको बताउँदै अब टप दरबार रोधीलाई पनि लोकसंगीत र कलाकारको साझा गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएका छन् ।
करिब ७ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको टप दरबार रोधीमा एकपटकमा करिब २०० जना अट्ने क्षमता रहेको छ । क्लबका अनुसार यहाँ प्रत्यक्ष रूपमा १०० भन्दा बढीले रोजगारी पाएका छन् । नेपाली मौलिक परिकार, प्रत्यक्ष सांगीतिक प्रस्तुति, आधुनिक प्रविधि तथा पारिवारिक वातावरणलाई क्लबका प्रमुख विशेषताका रूपमा अघि सारिएको छ ।
तीन दिनसम्म साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन भएको लोकदोहोरी मेला आज अन्तिम सांगीतिक प्रस्तुतिसँगै समापन हुनेछ ।
पहिलो दिनको भव्य उद्घाटनदेखि दर्शकको खचाखच उपस्थितिसम्म उत्साहजनक बनेको मेलाको अन्तिम साँझमा पनि चर्चित कलाकारको प्रस्तुतिले जमलको सांगीतिक माहोल तताउने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया