काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको आतंकले सीमा नाघिसकेको बताएका छन् ।
प्रवासी नेपाली मञ्च (ओएनएफ) राष्ट्रिय कमिटी कुवेतको पाँचौ अधिवेशनलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओली सरकारको आतंकले सीमा नाघिसकेको बताएका हुन् ।
जनताले पाँच वर्ष आतंक मच्चाउन लाइसेन्स नदिएको उनको भनाइ छ । सरकार स्वेच्छाचारी र अधिनायकवादी ढङ्गले चलिरहेको बताउँदै अध्यक्ष ओलीले सरकार गठनसँगै गरिब, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरूमाथि हमला, ट्रेड युनियनहरूमाथि प्रतिबन्ध, कर्मचारीतन्त्रमा पजनी आतङ्क मच्चाउने लगायत असहिष्णु काम गर्दै अगाडि बढेको स्पष्ट पारे । उनले भने, ‘जनताले पाँचबर्ष जे पनि गर्न पाउने लाइसेन्स दिएका होइनन् भन्ने कुरा सरकारले बुझ्नुपर्छ ।’
अब देशलाई फेरि कानुनी राजमा फर्काउन प्रतिगमनविरुद्ध सङ्घर्ष राष्ट्रिय आवश्यकता भएको पनि बताका छन् । गत बर्षको भदौ २३ र २४ गते नेपाली सभ्यतामा कहिल्यै नभएको विध्वंश भएको र यस घटनाले देशलाई असभ्यता र अपसँस्कृतितर्फ फर्काउनुका साथै अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको छवि विग्रिएर लज्जावोधको स्थिति सिर्जना गरेकोे ओलीले बताए ।
‘विगतमा सत्ता परिवर्तन, राजनीतिक परिवर्तन, व्यवस्था परिवर्तनका लागि भएका कुनै पनि आन्दोलनमा यस्तो विध्वंश भएको थिएन । अहिले सत्ता प्राप्तिका लागि राज्यका तीनै अङ्ग जलाइए, व्यक्ति, दलका नेता/कार्यकर्ताका घर जलाइए, लोकतन्त्रका लागि असाधारण योगदान गरेका नेतामाथि आक्रमण भयो,’ अध्यक्ष ओलीले भने।
यस्तै अध्यक्ष ओलीले पार्टीमा आफूविरूद्व अफवाह र दुष्प्रचार भइरहेको बारेमा पनि स्पष्ट पारेका छन् । आफूलाई पार्टी अध्यक्षबाट हटाएर पुनर्गठन गर्ने हल्ला असान्दर्भिक र अनुचित रुपमा चलाइएको उनको भनाइ छ । उक्त हल्ला बलेसीबाट खसेको पानीको फोकाजस्तै भएको ओलीले बताए । नेकपा (एमाले) विधिसम्मत चल्ने लोकतान्त्रिक पार्टी भएको बताउँदै उनले अब बस्ने केन्द्रीय कमिटी बैठकपछि पार्टी एकताबद्धरुपमा अगाडि बढ्ने धारणा राखे ।
अध्यक्ष ओलीले आफू पार्टीको महाधिवेशनमा भोटबाट निर्वाचित अध्यक्षमात्र नभई ५७ बर्षअघि पार्टी/संगठन केही नभएको अवस्थामा पार्टी निर्माण, गठन(पुनर्गठन, विस्तार, एकता/एकीकरण गर्दै र भूमिगत, निर्वासित जीवन विताउँदै, जेलनेल यातनामा पनि घुँडा नटेकेर आन्दोलनलाई जोगाउँदै आएको र अहिलेको अन्तर्राष्ट्रिय प्रहारमा पनि पार्टीलाई जोगाउने पार्टी नेतृत्व भएको स्पष्ट पारे ।











प्रतिक्रिया