काठमाडौं । टिकटकले बालबालिकाको गोपनीयताको अधिकार उल्लंघन गरेको आरोपसम्बन्धी मुद्दा टुंग्याउन अमेरिकालाई ४० करोड डलर तिर्न सहमति जनाएको छ । यो यस प्रकारको मुद्दामा भएको अहिलेसम्मकै ठूलो जरिवानामध्ये एक हो ।
यो सम्झौता पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा न्याय विभागद्वारा सन् २०२४ मा दायर गरिएको मुद्दाको परिणाम हो । उक्त मुद्दामा टिकटक र यसको मातृ कम्पनी ‘बाइटडान्स’ले १३ वर्षभन्दा कम उमेरका लाखौं प्रयोगकर्ताहरूको ठूलो परिमाणमा तथ्यांक संकलन गरेको आरोप लगाइएको थियो ।
यस्तो कार्य सन् २००० मा लागू भएको संघीय कानुन ‘चिल्ड्रेन्स अनलाइन प्राइभेसी प्रोटेक्सन एक्ट’को उल्लंघन थियो । यही कानुनको उल्लंघनलाई लिएर अमेरिकाका दर्जनौं राज्यहरूले अहिले ‘मेटा’विरुद्ध पनि मुद्दा चलाइरहेका छन् ।
सहायक महान्यायाधिवक्ता ब्रेट शुमेटले भने, ‘यो मुद्दा सुरु हुँदाको तुलनामा आज बालबालिका र अभिभावकहरू बढी सुरक्षित छन् ।’ सो कानुन उल्लंघनका कारण अमेरिकी सरकारलाई जरिवाना तिर्ने अन्य कम्पनीहरूमा गुगलको ‘युट्युब’, जसले सन् २०१९ मा १७ करोड डलर तिरेको थियो, र ‘एपिक गेम्स’, जसले सन् २०२२ मा २७ करोड ५० लाख डलर तिरेको थियो ।
मेटाले पनि अमेरिकाका २९ राज्यका महान्यायाधिवक्ताहरूले लगाएको सो कानुन उल्लंघनको आरोपका कारण अर्बौं डलरसम्मको जरिवानाको सामना गरिरहेको छ । यस मुद्दामा यसै साता जुरीसहितको सुनुवाइ सुरु भएको छ, जसमा इन्स्टाग्राम र फेसबुकको स्वामित्व रहेको कम्पनी माथि बाल प्रयोगकर्ताहरूलाई लक्षित गरेको र उनीहरूबाट नाफा कमाएको आरोप लगाइएको छ ।
टिकटकविरुद्धको यो मुद्दा टिकटकको अमेरिकी व्यवसाय र सञ्चालनलाई यसको मूल आधार चीनबाट अलग गर्नुअघि नै दायर गरिएको भए पनि यो सम्झौताले चीनमा रहेको टिकटकको सञ्चालनसँग सम्बन्धित विषयलाई मात्र समेट्छ ।
निजी स्वामित्वमा रहेको कम्पनी बाइटडान्सको पछिल्लो मूल्यांकन लगानीकर्ताहरूले ५ खर्ब ५० अर्ब डलर गरेका छन् ।











प्रतिक्रिया