२८ आश्विन २०८३, बुधबार

गायिका समीक्षा अधिकारीलाई ५ सय पटक फोन गरेर दुःख दिने को हो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका समीक्षा अधिकारीले आफूमाथि निरन्तर ब्लफ कल आएको दाबी गरेकी छन् ।

विगत डेढ एक वर्षदेखि रमेश शाही भन्ने एउटै व्यक्तिले फरक–फरक नम्बरबाट ५ सयभन्दा बढी पटक ब्लफ कल गरेको उनले जनाएकी हुन् ।

‘करिब डेढ वर्षदेखि एउटै व्यक्तिले पटकपटक फरक–फरक नम्बरबाट मलाई फोन गरिरहनुभएको छ। फोन उठाउँदा ‘म रमेश शाही’ भन्नुहुन्छ, तर ‘के कामले फोन गर्नुभएको ?’ भनेर सोध्दा आफ्नो नामबाहेक कुनै स्पष्ट कुरा गर्नुहुन्न । एउटा नम्बर ब्लक गरेपछि अर्को नम्बरबाट फेरि उही कुरा दोहोरिन्छ । डेढ वर्षसम्म लगातार यस्तो भइरहेपछि आज यो कुरा सार्वजनिक रूपमा लेख्नुपर्ने बाध्यता भयो,’ उनले लेखेकी छन्, ‘डेढ वर्षको अवधिमा अहिलेसम्म करिब ५०० वटा फरक–फरक नम्बरबाट आएका कल ब्लक गरिसकेँ होला । अझै पनि उहाँले अरू व्यक्तिहरूको मोबाइल नम्बर प्रयोग गरेर मलाई फोन गरिरहनु भएको छ । एउटा नम्बर ब्लक गरेपछि फेरि अर्को नम्बरबाट फोन आउने क्रम रोकिएको छैन ।’

उनको आग्रह छ, ‘कृपया मेरो नम्बर कसैले माग्दैमा बिना कारण र बिना सोचविचार अरूलाई नदिनु होला । उहाँले मेरो नम्बर किन र के कामका लागि माग्नुभएको हो, एकपटक बुझेर मात्र दिनुहोला । साथै, उहाँलाई आफ्नो मोबाइल नम्बर दिने सबैजनाले पनि कृपया सोचेर र बुझेर मात्र आफ्नो नम्बर उपलब्ध गराइ दिनुहोला ।’

उनले फेसबुकमा लेखेकी छन, ‘यो पोस्ट कसैलाई अनावश्यक रूपमा आरोप लगाउनका लागि होइन, तर लामो समयदेखि भइरहेको यस्तो व्यवहार रोकियोस् भन्ने उद्देश्यले लेखेकी हुँ । सबैले यस विषयलाई गम्भीर रूपमा बुझिदिनु होला ।’