भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर रोगको पहिचान र उपचारका लागि आउने बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । तर अस्पतालको क्षमता, भौतिक पूर्वाधार र उपकरण भने बिरामीको चाप बढ्दै जाँदा अपुग हुँदै गएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर बाहेक उपत्यका बाहिरबाट समेत भक्तपुर क्यान्सर अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या विगतको तुलनामा दोब्बरले बढेको हो ।
बढ्दो बिरामीको चाप र सीमित पूर्वाधार तथा उपकरणका बीच सेवा दिइरहेको अस्पताल अहिले आफ्नै पूर्वाधार र उपकरण विस्तारको पर्खाइमा रहेको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसे विगत एकदुई वर्षमा नै अस्पतालमा बिरामीको संख्या दुई गुणा बढी बढेको बताउँछन् ।
डा. चालिसेले ओपिडीमा दुई वर्ष अगाडिसम्म वार्षिक ५० देखि ६० हजारको संख्यामा बिरामी आउने गरेकोमा गत वर्षदेखि १ लाखभन्दा बढी बिरामी ओपिडीमा उपचारका लागि आएको जानकारी दिए ।
‘ओपिडीमा दुई वर्ष अगाडिसम्म वर्षमा ५०/६० हजारको संख्यामा बिरामी आउने गरेकामा गत वर्षदेखि १ लाख नाघेको छ, यस वर्ष १ लाख २० हजार बिरामीले ओपिडीमा सेवा लिनु भएको तथ्यांकले देखाउँछ,’ अस्पतालका कार्यकारी निर्देशक चालिसेले भने ।
अस्पतालमा वार्षिक करिब चार हजार नयाँ क्यान्सरका बिरामी उपचारका लागि थपिने गरेको उनले जानकारी दिए । अस्पतालमा हाल १५० शय्या सञ्चालनमा छन् ।
अस्पतालको वर्तमान क्षमताले भविष्यका लागि पर्याप्त सेवा प्रदान गर्न सकिने अवस्था नरहेको देखाउँछ । अस्पतालमा रेडियोथेरापी सेवा लिने बिरामीको संख्या पनि वार्षिक एक हजारभन्दा बढी छ ।
यसले अस्पतालको मुख्य चुनौती केवल थप भवन निर्माण गर्नु मात्र नभई बढ्दो उपचार मागअनुसार समग्र स्वास्थ्य पूर्वाधार विस्तार गर्नु रहेको देखाएको शनिबार आयोजित छलफलका सहभागिहरुले बताए । छलफलमा जनप्रतिनिधि तथा स्वास्थ्य क्षेत्रका सरोकारवालाहरु सहभागी थिए ।

छलफलमा सहभागीहरूले अस्पताल विस्तारलाई टुक्रे योजनाभन्दा एकीकृत गुरुयोजनाका आधारमा अघि बढाउनुपर्ने धारणा राखेका हुन् । उनीहरूले शय्या थप्ने, अत्याधुनिक उपकरण भित्र्याउने, रेडियोथेरापी तथा केमोथेरापी सेवा विस्तार गर्ने, प्रयोगशाला सुदृढ गर्ने र दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।
अन्तरक्रिया अस्पतालको वर्तमान अवस्थादेखि दीर्घकालीन विकास योजनासम्म छलफल भएको थियो भने क्यान्सर उपचार महँगो र लामो प्रक्रिया हुने भएकाले पूर्वाधार विस्तारसँगै सर्वसाधारणले सहज र सस्तो उपचार पाउने व्यवस्था पनि उत्तिकै महत्वपूर्ण रहेको औंल्याइएको थियो ।











प्रतिक्रिया