२८ आश्विन २०८३, बुधबार

शशांकको विज्ञप्ति– तथाकथित विशेष महाधिवेशन पक्षका अवैधानिक क्रियाकलापमा सहभागी नहुनु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली काँग्रेस संस्थापन इतर पक्षका नेता शशांक कोइरालाले संस्थापन पक्षले तय गरेको १५ औं केन्द्रीय महाधिवेशनको क्रियाकलापमा सहभागी नहुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

आज विज्ञप्ति जारी गर्दै उनले मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा कथित विशेष महाधिवेशनबाट गठित पक्षले १५ औं महाधिवेशन गर्ने निर्णय गरी कार्यतालिका सार्वजनिक गरेकोमा ध्यानाकर्षण भएको बताएका हुन् ।

गम्भीर विवादको अवस्थामा कथित विशेष महाधिवेशन पक्षले अधिवेशन वा महाधिवेशन गर्‍यो भने पार्टीका सबै तहमा संरचनागत रूपमा विभाजनको प्रकृया सुरू हुने स्पष्ट देखिने उनको भनाइ छ ।

यस्तो छ विज्ञप्ति-

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारितासम्बन्धी विवादको मुद्दामा पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सम्मानित सर्वोच्च अदालतको डिभिजन बेञ्चको निर्णय-आदेश उपर पुनरावलोकन गरि पाउँ भनि निवेदन दिई उक्त मुद्दा सुरूदेखिनै हेर्ने गरी सम्मानित सर्वोच्च अदालतको पूर्ण इजलासवाट पुनरावलोकनको अनुमति (निस्सा) पाइसकेको अवस्थामा सो मुद्दा हाल सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको सवैलाई अवगतनै छ।

यो अवस्थामा कथित विशेष महाधिवेशनबाट गठित पक्षले १५ औं महाधिवेशन गर्ने निर्णय गरी कार्यतालिका सार्वजनिक गरेको सन्दर्भमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

सुदृढ, सबल र गतिशील कांग्रेसका लागि पार्टीभित्रको सांगठनिक तथा भावनात्मक एकता नै अहिलेको आवश्यकता हो भन्ने हाम्रो निश्कर्ष र प्रतिबद्धता रहेको छ। कथित विषेश महाधिवेशनको कारणले हाल केन्द्रीय कार्यसमिति समानान्तर रूपले विभाजित रहेको छ।

यस्तो गम्भीर विवादको अवस्थामा कथित विशेष महाधिवेशन पक्षले अधिवेशन वा महाधिवेशन गर्‍यो भने पार्टीका सबै तहमा संरचनागत रूपमा विभाजनको प्रकृया सुरू हुने स्पष्ट देखिन्छ र आगामी स्थानीय तथा प्रदेश सभा सदस्यको निर्वाचनमा समेत पार्टीलाई झनै नकारात्मक असर पर्दछ भन्ने हाम्रो ठहर छ।

तसर्थः तथाकथित विशेष महाधिवेशन पक्षका यस्ता अवैधानिक र विभाजनकारी अधिवेशन र महाधिवेशन आयोजना नगर्नरनगराउन तथा यस्ता कृयाकलापमा सहभागी नहुन पार्टीका सबै तहका समिति, पदाधिकारी र सदस्यहरू तथा क्रियाशील सदस्यहरूमा हार्दिक अपील गर्दछौं।

जय नेपाल

शशांक कोइराला, संयोजक