काठमाडौं । भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’ मा सवारीसाधन मात्र होइन, अटोमोबाइल उद्योगसँग सम्बन्धित सम्पूर्ण सेवा र उत्पादनहरू पनि आकर्षणका केन्द्र बन्ने भएका छन्।
करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा दुई सयभन्दा बढी स्टल रहनेछन्। नाडाका अनुसार अटो शोमा २३ यात्रुवाहक, १७ हल्का व्यावसायिक तथा १३ दुईपाङ्ग्रे गरी ५३ सवारी ब्राण्डको सहभागिता रहनेछ।
तर प्रदर्शनीमा सहभागी हुने कम्पनीहरूको बहुमत भने सवारी उत्पादक कम्पनीहरू होइनन्। प्रदर्शनी स्थलमा रहने करिब ७० कम्पनीले टायर, ब्याट्री, इन्जिन आयल, हेलमेट, बेयरिङ, ग्यास्केट, फिल्टर, डाइग्नोस्टिक उपकरण, ग्यारेज टुल्स, जीपीएस तथा टेलिमेटिक्स प्रणाली, अटो एसेसरिज र विद्युतीय सवारीका लागि आवश्यक चार्जिङ उपकरणहरू प्रदर्शन गर्नेछन्।
यसैगरी, करिब १० बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले अटो कर्जा, सवारी बीमा तथा विद्युतीय सवारीका लागि विशेष वित्तीय योजनासहित आफ्ना सेवा प्रस्तुत गर्नेछन्।
नाडाका अनुसार उपभोक्ताले सवारी खरिद गर्न केही हप्ता खर्चिए पनि त्यसपछि वर्षौंसम्म मर्मत, बीमा, वित्तीय सेवा र स्पेयर पार्ट्ससँग जोडिएर बस्नुपर्ने हुन्छ। यही कारण अटो शोलाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरणका छुट्टाछुट्टै क्षेत्रहरूमा विभाजन गरिएको छ, जसले आगन्तुकलाई एउटै स्थानमा सवारीसँग सम्बन्धित सम्पूर्ण जानकारी प्राप्त गर्न सहज बनाउनेछ।
यस वर्षको अटो शोमा सहभागी सवारी ब्राण्डहरूको भौगोलिक विविधता पनि उल्लेखनीय रहनेछ। युरोपेली ब्राण्ड स्कोडादेखि मलेसियाको राष्ट्रिय ब्राण्ड प्रोटोन तथा चीनका चेरी (ओमोडा र जेकु) र जीडब्ल्यूएमसम्मका कम्पनीहरू सहभागी हुनेछन्। साथै जापानी, भारतीय, कोरियाली, चेक, मलेसियाली र चिनियाँ मूलका सवारीसाधन एकै थलोमा अवलोकन गर्न सकिनेछ।
विदेशी कम्पनीहरूका लागि इन्टरनेसनल बिजनेस प्याभिलियन तथा स्वदेशी उत्पादन र एसेम्बली उद्योगका लागि ‘मेड इन नेपालरमेड फर नेपाल’ प्याभिलियन पनि छुट्याइएको छ।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अटो शोलाई गाडीको प्रदर्शनी मात्र नभई समग्र अटो उद्योगको उत्सवका रूपमा लिनुपर्ने बताए।
उनले भने, “अटो शो भन्नेबित्तिकै गाडीले भरिएको हल भन्ने धारणा हुन्छ। तर हाम्रो प्रदर्शनीको ठूलो हिस्सा ती गाडीलाई वर्षौंसम्म सञ्चालनमा राख्ने उद्योगले ओगटेको छ। त्यसैले त्यो उद्योग पनि दर्शकले नजिकबाट हेर्न पाउनुपर्छ।”
नाडाका अनुसार करिब पाँच दशकअघि नेपालको अटोमोबाइल प्रदर्शनी एउटा कोठाभित्र सीमित थियो। अहिले तीन लाख वर्गफिट क्षेत्रफल आवश्यक पर्नु सवारीको संख्या बढेकाले मात्र नभई समग्र अटोमोबाइल उद्योगको विस्तार र विविधीकरणको परिणाम भएको जनाइएको छ।













प्रतिक्रिया