२८ आश्विन २०८३, बुधबार

धवलशमशेरको ‘जय नेपाल पार्टी’को पहिलो बैठकले के–के गर्‍यो निर्णय ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । डा. धवलशमशेर राणा नेतृत्वको जय नेपाल पार्टीको पहिलो केन्द्रीय कार्यसमितिको बैठक काठमाडौंमा सम्पन्न भएको छ ।

आज बसेको पार्टीको पहिलो बैठकले देशलाई माया गर्ने सबैलाई साथ, सहयोग र समर्थनका लागि आह्वान गरेको छ ।

बैठकले विभिन्न १० वटा निर्णय गरेको छ ।

बैठकले यही भदौ र असोज महिनाभित्र ७७ जिल्लामा तदर्थ जिल्ला कार्यसमिति गठन गर्नेगरी केन्दीय सदस्यहरू समावेश गरेर टोली खटाउने पहिलो निर्णय गरेको पार्टी सभापति राणाले जानकारी गराएका छन् ।

यसैगरी, भदौ महिनाभित्र युवा, महिला तथा जेनजेडसहितको जनवर्गीय संगठन तथा विभाग र समितिहरू केन्द्रीय तहमा गठन गर्ने निर्णय गरेको छ ।

यस्तो छ जय नेपाल पार्टीको १० निर्णयहरु:

१. भदौ र असोज महिनाभित्र ७७ जिल्लामा तदर्थ जिल्ला कार्यसमिति गठन गर्ने गरी केन्दीय सदस्यहरू समावेश गरेर टोली खटाउने ।

२. भदौ महिनाभित्र युवा, महिला तथा जेन जेड सहितका जनवर्गीय संगठन तथा विभाग र समितिहरू केन्द्रीय तहमा गठन गर्ने ।

३. मौजुदा संविधान निर्माणको क्रममा देशभरीबाट जनताले दिएको सुझावलाई अवहेलना गरी संविधान निर्माण गरेको हुँदा उक्त सुझावको पोका खोलेर संविधान संशोधनमा जनताको अभिमत सम्बोधन गर्न सरकारमाथि आवश्यक जनदबाब सिर्जना गर्न तथा संंविधान संशोधनका लागि वर्तमान सरकारले राय सुझाव संकलन गरेको सन्दर्भमा संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यको पक्षमा जनमत सिर्जना गर्दै सम्बन्धित तहमा सकारात्मक दबाब सिर्जना गर्ने उद्देश्यले निकट भविष्यमा चरणबद्ध रूपमा देशव्यापी हस्ताक्षर संकलन गर्ने ।

४. राष्ट्रिय जनावर गाईको संरक्षण गर्नु राष्ट्रिय दायित्व हो । नेपालको संविधानले राष्ट्रिय जनावरको रूपमा गाईको विशेष स्थान र संरक्षणको परिकल्पना गरेको छ । मुलुकी फौजदारी संहिताले गौहत्यालाई गैरकानुनी ठहर गर्दै कडा सजायको व्यवस्था गरेको छ । यसका बावजुद, प्रचलित कानुनी र सांस्कृतिक संवेदनशीलताका बीच पनि यदाकदा गौहत्याको घटना सार्वजनिक भए पनि राज्य मौन बस्ने र केही ठूला होटल तथा रेष्टुरेन्टहरूमा गाईको मासुका परिकारहरू बिक्रि–वितरण हुने गरेको देखिन्छ । त्यसैले, गौहत्या र गाईको मासुको खपतमा रोक लगाउने गरी राज्य लगायत सम्बन्धित पक्षमाथि दबाब सिर्जना गर्ने उद्देश्यसाथ भदौ महिनामा दबाबमूलक कार्यक्रम संचालन गर्ने । राष्ट्रिय जनावरको संरक्षण र सम्मान राज्य र नागरिकको साझा दायित्व हो भन्ने मान्यता आत्मसात गर्दै संचालन गरिने अभियान र प्रदर्शनको नेतृत्व जनवर्गीय संगठनहरूले गर्ने । गौसंरक्षणका लागि सात प्रदेशमा सुविधासम्पन्न गौशालाहरू राज्यले निर्माण गर्न जनमत सिर्जना गर्ने ।

५. अनलाइन माध्यमबाट पार्टी सदस्यता लिन मिल्ने गरी भदौ महिनाभित्र विद्युतीय प्रणाली निर्माण गर्ने ।

६. पार्टीभित्र प्रशिक्षण संचालन गर्न आवश्यक प्रशिक्षण सामाग्रीहरू तयार गर्न कार्यदल गठन गर्ने ।

७. एक पटकको नेपाली सधैंको नेपाली भन्ने मान्यताअनुरूप प्रवासमा रहेका नेपाली नागरिकहरूलाई मतााधिकार उपलब्ध गराउन सरकारमाथि दबाब सिर्जना गर्ने ।

८. जय नेपाल पार्टीसँग विचार मिल्ने पार्टी, संगठन, समूह, अभियान तथा व्यक्तिहरुलाई जय नेपाल पार्टीमा गोलबन्ध गर्न एक वार्ता समिति गठन गर्ने ।

९. आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै स्थानीय तहमा जय नेपाल पार्टीको तर्फबाट उम्मेदवार बन्न इच्छुक योग्य र लोकप्रिय नागरिकहरूलाई सार्वजनिक आह्वान गर्ने ।

१०. जय नेपाल पार्टीका नीति, विचार र लक्ष्यलाई मध्यनजर गर्दै स्थिर र समुन्नत नेपाल निर्माणको मार्गचित्र निर्माण गर्न एक कार्यदल गठन गर्ने र सो प्रक्रियामा स्वदेश तथा विदेशमा रहेका विभिन्न विषयगत विज्ञ नेपालीहरूको सहयोग तथा परामर्श लिने ।