२८ आश्विन २०८३, बुधबार

सुनिता आहुजाले फिर्ता लिइन् गोविन्दाविरुद्धको सम्बन्धविच्छेदको मुद्दा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । गत वर्षदेखि नै गोविन्दा र सुनिता आहुजाको वैवाहिक सम्बन्धमा आएको खटपट र उनीहरूको सम्बन्धविच्छेदसम्बन्धी विभिन्न चर्चा परिचर्चा चलिरहेको छ ।

अब गोविन्दाका म्यानेजर शशि सिन्हाले सुनिता आहुजाले गोविन्दाविरुद्ध दायर गरेको सम्बन्धविच्छेदको मुद्दा फिर्ता लिएको पुष्टि गरेका छन् ।

सुनितालाई मुम्बईको बान्द्रास्थित अदालतमा देखिएको थियो, यद्यपि त्यसको कारण भने खुलेको थिएन । लामो समयदेखि सुनिता आहुजाले गम्भीर आरोपहरू लगाउँदै र विवादास्पद टिप्पणीहरू गर्दै आएकी थिइन् भने गोविन्दाले पनि बेला बेलामा त्यसको जवाफ दिँदै आएका पनि थिए ।

गोविन्दाका म्यानेजर सिन्हाले विगत दुई वर्षमा यो सम्पूर्ण प्रकरणले मिडियामा जसरी स्थान पायो, त्यसमाथि निराशा व्यक्त गरेका थिए ।

उनले यो कुरा यति टाढासम्म पुग्नुपर्ने आवश्यकता नभएको बताउँदै भने, ‘झगडा त भइरहन्छन् तर जीवन अघि बढिरहन्छ ।’

उनले एनडीटीभीसँग भने, ‘तर पारिवारिक झगडाको कुरा जब अदालतसम्म पुग्छ, तब सारा संसारलाई थाहा हुन्छ । के संसारलाई यो कुरा थाहा हुनु आवश्यक थियो र ? यसको कुनै आवश्यकता थिएन । पारिवारिक कुरा परिवार भित्रै सीमित रहनुपर्छ । धेरै कुराहरू बसेर छलफल गर्दा समाधान हुन्छन् । यदि आज मुद्दा फिर्ता नै लिनु थियो भने सुरुमा किन दायर गरिएको थियो ? यसले मलाई दुःखी बनाउँछ । हामी किन तमासाको पात्र बन्यौँ ?’

‘गोविन्दाको तर्फबाट हाल कुनै प्रतिक्रिया आएको छैन । यी सबै घटनाक्रम केही मिनेट अघि मात्र भएका हुन् । अहिलेसम्म कुनै प्रतिक्रिया देखिएको छैन । भगवानले सबैलाई सद्बुद्धि दिऊन् र सबैले समझदारीपूर्वक व्यवहार गरुन्, मुख्य कुरा यही हो । म सबैको भलो चाहन्छु– गोविन्दा, सुनिता, बालबालिका र सबैको,’ सिन्हाले भने ।

गत फेब्रुअरीदेखि नै अनलाइनमा गोविन्दा र सुनिताको सम्बन्धविच्छेदको चर्चा चलिरहेको छ ।

सुनिताले हालैका केही अन्तर्वार्तामा व्यक्तिगत विवरणहरू सार्वजनिक गरेपछि उनीहरूको सम्बन्धमा समस्या रहेको बारेका अड्कलबाजीहरूले थप तीव्रता पाएका हुन् ।

यिनै चर्चा परिचर्चाका बीच ई–टाइम्सको एक रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै भनिएको छ, ‘सुनिताले केही महिनाअघि सम्बन्ध अलग बस्ने अर्थात सेपरेसनको सूचना पठाएकी थिइन् तर त्यसयता कुनै थप प्रक्रिया अघि बढेको छैन ।’

सुनिताले हालै ‘रूपा’ चलचित्रमा सह कलाकार रहेकी कोमल रानी स्वर्णकारसँगको सम्बन्धलाई लिएर गोविन्दालाई ‘सुगर ड्याडी’ भनेकी थिइन् । यस विवादबारे गोविन्दाले पनि प्रतिक्रिया दिएका थिए । सुनिताले सार्वजनिक रूपमै ती अभिनेत्रीसँग गोविन्दाको प्रेम सम्बन्ध रहेको आरोप लगाएपछि यस्तो टिप्पणी आएको हो ।

तर, रिपोर्टहरूका अनुसार यो जोडीबीच गत वर्ष नै मेलमिलाप भएको थियो ।