२८ आश्विन २०८३, बुधबार

‘नाडा अटो शो अब गाडीको प्रदर्शनी मात्र होइन’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको अग्रणी अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो’को १८ औं संस्करण यही भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमाआयोजना हुँदैछ ।

नाडाको ५० औं वार्षिकोत्सवको उपलक्ष्यमा १८ औं संस्करणलाई ‘स्वर्ण उत्सव संस्करण’का रूपमा भव्यताका साथ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

नाडाको ५० औं वर्षमा उद्योग, प्रविधि, स्वदेशी उत्पादन र ईभीको भविष्यबारे अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का महासचिव मिलनबाबु मल्लसँग कुराकानी गरिएको छ–

यसपटकको नाडा अटो शोको तयारी कस्तो छ? ५० औं स्थापना वर्षसँग जोडेर आयोजना गर्न लागिएको यो संस्करणलाई कसरी हेर्नुभएको छ ?

यसपटकको नाडा अटो शो हाम्रो लागि विशेष छ । नाडा ५० औं स्थापना वर्षमा प्रवेश गरेको अवसरमा १८ औं नाडा अटो शो २०२६ आयोजना हुँदैछ । त्यसैले यसपटक हामीले अटो शोको दायरालाई केवल नयाँ गाडी प्रदर्शनमा सीमित राखेका छैनौँ । नाडाको पाँच दशकको यात्रा र अब नेपाली अटोमोबाइल उद्योगलाई कहाँ लैजाने भन्ने विषयलाई पनि अटो शोमार्फत बहसमा ल्याउन खोजेका छौँ ।

अटो शो भन्नासाथ नयाँ गाडी हेर्ने र खरिद गर्ने ठाउँ भन्ने बुझाइ छ। यसपटक त्यसमा के फरक छ ?

अब अटो शो गाडी हेर्ने ठाउँमात्र रहेन । अटोमोबाइल क्षेत्र आफैँ तीव्र परिवर्तन भइरहेको छ । पेट्रोल–डिजेलबाट विद्युतीय सवारीतर्फको परिवर्तनसँगै एआई, कनेक्टिभिटी र अटोमेसनजस्ता प्रविधि सवारीसाधनमा प्रवेश गरिरहेका छन् ।

अहिले अटोमोबाइल भनेको गाडी मात्र होइन । यो प्रविधि, मोबिलिटी, रोजगारी, वित्तीय सेवा र उद्योगसँग जोडिएको ठूलो इकोसिस्टम हो । त्यसैले अटो शोमा पनि त्यही परिवर्तन देखिनुपर्छ भन्ने हाम्रो सोच हो ।

प्रविधिको प्रयोगलाई अटो शोमा कसरी प्रस्तुत गर्दै हुनुहुन्छ ?

यसपटक दर्शकले ‘जीआई ह्युमनोइड’ र ‘जीओ–२ क्वाड्रुपेड’ रोबोट प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् । त्यस्तै, सवारीसाधनमा राखिएको क्युआर कोड स्क्यान गर्दा एआई प्रविधिमार्फत सम्बन्धित गाडीको विवरण डिजिटल रूपमा प्राप्त गर्न सकिने व्यवस्था मिलाउँदैछौँ ।

हाम्रो उद्देश्य प्रविधिलाई केवल प्रदर्शनको आकर्षण बनाउनु होइन, दर्शकको अनुभवलाई सहज र ज्ञानमूलक बनाउनु पनि हो । दर्शकले गाडी हेरेर मात्र जाने होइन, त्यसबारे बुझ्ने, तुलना गर्ने र भविष्यको मोबिलिटी कतातर्फ जाँदैछ भन्ने अनुभव गर्ने वातावरण बनाउन खोजेका छौँ ।

‘मेड इन नेपाल एन्ड मेड फर नेपाल’ प्याभिलियन पनि यसपटकको नयाँ अवधारणा हो ?

हो । अटो शोको इतिहासमै पहिलोपटक छुट्टै ‘मेड इन नेपाल एन्ड मेड फर नेपाल’ प्याभिलियन राख्दैछौँ । नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन र अटोमोबाइल सामग्रीलाई यसमा प्राथमिकताका साथ प्रदर्शन गरिनेछ ।

नेपालमै बनेका मोटरसाइकल, स्वदेशमा एसेम्बल भएका स्कुटर तथा बाइकसँगै टायर, लुब्रिकेन्ट, ब्याट्री, हेल्मेट र स्पेयर पार्ट्स पनि यहाँ राखिनेछन् ।

नेपालमा उत्पादन सम्भव छैन भन्ने धारणा अझै छ । ‘मेड इन नेपाल’ ले त्यसलाई कसरी बदल्न सक्छ ?

नेपालमा उत्पादन सम्भव छैन भन्ने सोचलाई विस्तारै बदल्नुपर्छ । स्वदेशमा उद्योग बस्यो भने रोजगारी सिर्जना हुन्छ, सीप विकास हुन्छ र अर्थतन्त्रमा मूल्य थपिन्छ ।

त्यसैले ‘मेड इन नेपाल’लाई अटो शोमा छुट्टै स्थान दिनु हाम्रो प्राथमिकता हो । यो केवल एउटा प्याभिलियन होइन, नेपाली उद्योगप्रतिको धारणा परिवर्तन गर्ने प्रयास पनि हो ।

अटोमोबाइल क्षेत्रलाई नेपालमा ठूलो राजस्व र रोजगारीसँग जोडिएको क्षेत्र भनिन्छ । यसको वास्तविक योगदानलाई कसरी हेर्नुहुन्छ ?

अटोमोबाइल क्षेत्रलाई केवल सवारीसाधन आयात र बिक्रीको व्यवसायका रूपमा बुझ्नु हुँदैन । नाडाको तथ्यांकअनुसार यस क्षेत्रले कुल भन्सार राजस्वमा करिब १८ प्रतिशत र समग्र राष्ट्रिय राजस्वमा २२ देखि २५ प्रतिशतसम्म योगदान गर्दै आएको छ ।

प्रत्यक्ष रूपमा करिब एक लाख र अप्रत्यक्ष रूपमा करिब १० लाख मानिसको रोजगारीसँग यो क्षेत्र जोडिएको छ । त्यसैले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा हो ।

उद्योगलाई दीर्घकालीन रूपमा बलियो बनाउन नीति, लगानी, पूर्वाधार र प्रविधि सबै पक्षमा सँगसँगै काम गर्न आवश्यक छ ।

विद्युतीय सवारीसाधन अर्थात् ईभीको बजार विस्तारलाई नाडाले कसरी हेरिरहेको छ ?

ईभीको उपस्थिति र बजार विस्तार सकारात्मक रूपमा अघि बढिरहेको छ। यसपटकको अटो शोमा पनि विभिन्न ब्रान्डले नयाँ ईभी मोडल सार्वजनिक गर्ने तयारी गरेका छन् ।

तर ईभीको बिक्री बढ्नु मात्रै पर्याप्त हुँदैन । त्यससँगै चार्जिङ पूर्वाधार, दक्ष प्राविधिक जनशक्ति, सर्भिस नेटवर्क र स्थिर नीतिको आवश्यकता हुन्छ । अबको बहस ईभी कति बिक्री भयो भन्नेमा मात्र सीमित हुनु हुँदैन । समग्र ईभी इकोसिस्टम कसरी बलियो बनाउने भन्नेमा केन्द्रित हुनुपर्छ ।

स्मार्ट मोबिलिटी र दिगो यातायातका विषयमा पनि कार्यक्रम हुँदैछ?

हो । स्मार्ट मोबिलिटी, दिगो यातायात र कनेक्टिभिटीका विषयमा सिम्पोजियम आयोजना हुँदैछ । अटोमोबाइल क्षेत्रको भविष्य केवल गाडीको बिक्रीसँग सम्बन्धित छैन । यातायात प्रणाली, प्रविधि, वातावरण र सहरी मोबिलिटीसँग पनि यसको सम्बन्ध छ । त्यसैले यस्ता विषयमा गम्भीर बहस आवश्यक छ ।

यसपटकको अटो शोमा कति ब्रान्ड र स्टलको सहभागिता रहनेछ ?

भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनी करिब तीन लाख वर्गफिट क्षेत्रमा फैलिनेछ । २०० भन्दा बढी स्टल रहनेछन् ।

यसमा २३ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेइकल, १३ ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधन, ७० वटा अटोमोबाइल पार्टपुर्जा तथा उत्पादनका स्टल र १० वित्तीय तथा बीमा संस्थाको सहभागिता रहनेछ ।

करिब कति दर्शक आउने अपेक्षा गर्नुभएको छ ? भीड व्यवस्थापनका लागि के तयारी छ ?

६ दिनसम्म चल्ने प्रदर्शनीमा करिब दुई लाख आगन्तुक आउने अपेक्षा गरेका छौँ । भीड व्यवस्थापनलाई ध्यान दिँदै नेपाल पुलिस क्लब, नेसनल ट्रेडिङ, सुन्धारा, सञ्चय कोष भवन, पुरानो बसपार्क लगायतका स्थानमा पार्किङको व्यवस्था गरिनेछ ।

बाहिरी पार्किङस्थलबाट भृकुटीमण्डपसम्म निःशुल्क सटल बस सञ्चालन गरिनेछ । प्रदर्शनीस्थलमा सीसीटीभी निगरानी, ह्विलचेयर सुविधा, आपत्कालीन स्वास्थ्य टोली र ट्राफिक सूचना डेस्क पनि रहनेछन् ।

टिकटिङको व्यवस्था कस्तो छ ?

आधिकारिक टिकटिङ पार्टनर खल्तीमार्फत अग्रिम टिकट बुक गर्दा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको छ । दर्शकलाई सहज र व्यवस्थित रूपमा प्रदर्शनीमा सहभागी गराउने हाम्रो उद्देश्य हो ।

अन्ततः ५० औं स्थापना वर्षमा नाडाले नेपाली अटोमोबाइल उद्योगलाई के सन्देश दिन चाहन्छ ?

हाम्रो लक्ष्य एउटा सफल अटो शो गर्नु मात्र होइन । ५० वर्षमा नाडाले जहाँसम्म यात्रा गरेको छ, त्यसबाट अब नेपाली अटोमोबाइल उद्योगलाई कहाँ लैजाने भन्ने बहस पनि सुरु गर्नुपर्छ ।

उद्योग बलियो भयो भने व्यवसायसँगै रोजगारी र अर्थतन्त्र पनि बलियो हुन्छ । त्यसैले नीति, लगानी, प्रविधि, पूर्वाधार र स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै नेपाली अटोमोबाइल उद्योगलाई दीर्घकालीन रूपमा बलियो बनाउने दिशामा अघि बढ्नुपर्छ ।

नाडा अटो शो त्यस यात्राको एउटा प्रदर्शनी मात्र होइन, नेपाली अटोमोबाइल उद्योगको वर्तमान अवस्था र आगामी यात्राको चित्र प्रस्तुत गर्ने एउटा महत्वपूर्ण मञ्च बन्नुपर्छ ।